काठमाडौं । हरितालिका तीजको अवसरमा पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान ३ बजेदेखि खुल्ने भएका छन्। यस वर्ष भदौ २९ गते (भोलि) परेको तीजका अवसरमा विशेष पूजा तथा दर्शनको व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
मन्दिरमा आउने भक्तजनका लागि मन्दिरबाहिर पाँच वटा लाइन र मन्दिर परिसरमा प्रवेश गरेपछि आठ वटा लाइन रहने गरी व्यवस्था मिलाइएको छ। दर्शनार्थीमा महिलाको संख्या उल्लेख्य हुने भएकाले महिला सुरक्षाकर्मीको संख्या बढाएर परिचालन गर्न कोषले सरकारसँग अनुरोध गरेको छ।

ट्राफिक व्यवस्थापनका लागि विशिष्ट व्यक्तिका सवारीसाधन कोषको कार्यालय परिसरमा पार्किङ गर्ने व्यवस्था मिलाइएको छ। अन्य सवारीसाधनका लागि भण्डारखाल पार्किङ, सिफल चौर, वनकाली पार्किङ, तिलगंगा र उमाकुण्ड पार्किङस्थल निर्धारण गरिएको छ।