विराटनगर । बरगाछी नजिकै रहेको श्री एक हजार आठ बाबा वासुकिनाथ धाम मन्दिरमा सोमबार तीजको अवसरमा महिलाहरू पूजा अर्चना गर्न व्यस्त थिए। त्यही भीडमा ४० वर्षीया याशिया खातुन भने खेलौनाका सामग्री लिएर व्यापारमा व्यस्त थिइन्।
मुस्लिम समुदायकी यशिया तीज मनाउन मन्दिर पुगेकी भने होइनन्। पर्वको अवसरमा हुने भीड र मेलालाई आफ्नो व्यवसायको अवसरका रूपमा उपयोग गर्न उनी त्यहाँ पुगेकी हुन्। बिहानैदेखि उनले मन्दिर परिसरमा खेलौनाका सामग्री सजाएर राखेकी थिइन्।

विराटनगरको भट्टीमोडमा बस्दै आएकी उनी लामो समयदेखि खेलौना व्यवसाय गर्दै आएकी छन्। श्रीमान् बिरामी भएपछि परिवारको जिम्मेवारी सम्हाल्न उनले आफ्नै व्यवसाय सुरु गरेको बताउँछिन्।
‘जहाँ मेला लाग्छ, हाटबजार लाग्छ, त्यहीँ गएर व्यापार गर्छु,’ उनी भन्छिन्, ‘पर्व जुन धर्मको भए पनि व्यापारका लागि सबै ठाउँ आफ्नै हो।’
हिन्दु धर्मावलम्बीहरूको प्रमुख पर्व तीजमा मुस्लिम समुदायकी यशिया व्यापारका लागि मन्दिर परिसरमा देखिनु धार्मिक सहिष्णुता र सामाजिक सद्भावको एउटा सुन्दर उदाहरण पनि हो। उनका लागि धर्म फरक भए पनि रोजगारी, आत्मनिर्भरता र व्यवसायको अवसर सबैका लागि समान छन्।