तेह्रथुम। कुनै समय तेह्रथुमका गाउँबस्तीमा प्रमुख दलहन बालीका रूपमा खेती हुँदै आएको भटमास पछिल्लो समय लोप हुने अवस्थामा पुगेको छ। जिल्लाको म्याङलुङ आसपासका क्षेत्रमा एक दशकअघिसम्म बारीभरि देखिने भटमासका बोट अहिले फाट्टफुट्ट मात्र देखिन थालेका छन्।
प्रशस्त प्रोटिन पाइने भटमास स्थानीय समुदायको खानपानसँगै कृषि संस्कृतिसँग पनि जोडिएको बाली हो। यसको हरियो कोसा उसिनेर खाने, तरकारीका रूपमा प्रयोग गर्ने, पाकेपछि भुटेर खाने तथा परम्परागत रूपमा किनिमा बनाएर खाने प्रचलन छ। भटमासबाट तेलसमेत उत्पादन गरिन्छ।

सदरमुकाम म्याङलुङ बजार आसपासका सुक्खा, पानी नजम्ने तथा दोमट माटो भएका क्षेत्र भटमास खेतीका लागि उपयुक्त मानिन्थे। म्याङलुङ, तम्फुलालगायत क्षेत्रमा विगतमा भटमास प्रमुख बालीका रूपमा खेती हुने गरेको स्थानीय बताउँछन्। करिब एक दशकअघिसम्म यस क्षेत्रका बारीमा मुरीका मुरी भटमास उत्पादन हुने गरेकामा अहिले उत्पादन निकै घटेको उनीहरूको भनाइ छ।
म्याङलुङ नगरपालिका–२ मेयङलुङ गाउँका मनी खापुङका अनुसार पछिल्लो समय रासायनिक मलको प्रयोग बढ्नु तथा खेती प्रणालीमा आएको परिवर्तनका कारण भटमासलगायत रैथाने बाली हराउँदै गएका हुन्।