Lite Nepal

मंगलबार, भाद्र ३०, २०८३

मुस्ताङ । मुस्ताङमा आजदेखि ‘घरपझोङ जलवायु सम्मेलन २०८३’ सुरु हुँदैछ । सम्मेलनको आज कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले उद्घाटन गर्दै छिन् । सम्मेलनमा भाग लिन ४२१ स्थानीय तह र ३६ जिल्ला समन्वय समितिका जनप्रतिनिधि सोमबार साँझ मुस्ताङ आइपुगेका छन् ।

सोमबार साँझसम्म सातै प्रदेशका महानगर, उपमहानगर, नगर र गाउँपालिकाका जनप्रतिनिधिसहित दुई हजार बढी अतिथि मुस्ताङ आइपुगेको घरपझोङ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत भीमकुमार बस्नेतले जानकारी दिए । अतिथिलाई स्थानीय होटलमा बसोबासको व्यवस्था मिलाइएको छ ।

सम्मेलनको व्यवस्थापनका लागि पालिकाअन्तर्गतका पाँचै वडाका गाउँ समाज, आमा समूह, युवा क्लब र अन्य सङ्घसस्थालाई परिचालन गरिएको गाउँपालिका उपाध्यक्ष जमुना थकालीले जानकारी दिइन्।

उपाध्यक्ष थकालीका अनुसार सम्मेलनमा आउने अतिथिका लागि बिहानको ब्रेक फास्ट, खाना र खाजा सम्मेलन स्थलमा नै आमा समूहको टोलीले व्यवस्थापन गर्नेछ । बेलुकीको खाना र बसोबासका भने गाउँपालिकाले तोकेको होटलमा व्यवस्था मिलाइएको उपाध्यक्ष थकालीले बताइन् ।

सम्मेलनलाई भव्य बनाउन गाउँपालिकाका पाँचै वडाका सडक र बस्तीमा स्थानीय मौलिक कला, संस्कृतिसहितको ध्वजापतङ्गा झुन्ड्याएर सजिसजाउ गरिएको छ ।

गाउँपालिकाको मुख्य राजमार्ग सडक तथा भित्री सडकहरूमा सडक बत्ती जडान गरी झिलिमिली पारिएको छ । आगन्तुक अतिथिको स्वास्थ्य परीक्षणका लागि स्वास्थ्यकर्मी स्वयंसेवक परिचालन गरिएको छ ।

खानेपानी र इन्टरनेट, विद्युत् सेवालाई समस्या नहुने गरी पूर्व तयारी गरिएको छ । यसैगरी सवारी पार्किङ तथा ट्राफिक व्यवस्थापनलाई सहज पारिएको छ । जोमसोम कभर्डहलमा हुने सम्मलनमा स्टेज, साउन्ड सिस्टम, ब्यानरसहित आवश्यक सजावट गरिएको गाउँपालिकाका सूचना अधिकारी विकास सज्यालले जानकारी दिए ।

सम्मेलन स्थलभित्र २८ फिट उचाइको जलवायु परिवर्तनको असरसम्बन्धी जनचेतना झल्काउने पृथ्वी रोइरहेको बेलुनको गोलाकार आकृति राखिएको छ ।

यस्तै, मुस्ताङका कृषि उत्पादनको प्रचारप्रसार गर्ने उद्देश्यका साथ पचासभन्दा बढी स्टल राखिएको गाउँपालिकाका कृषि शाखा अधिकृत रोशन थकालीले जानकारी दिए । दुई दिनसम्म चल्ने सम्मेलनले जलवायु परिवर्तनको असरसम्बन्धी घोषणापत्र जारी गर्नेछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं