इलाम । इलामको माङसेबुङ गाउँपालिका–३ स्थित प्रस्तावित धार्मिक तथा सांस्कृतिक क्षेत्र भञ्ज्याङमा राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङदेनको पूर्ण कदको सालिक निर्माण सुरु भएको छ।
गाउँपालिकाका अनुसार सालिक २५ फिट अग्लो र आठ फिट चौडाइको हुनेछ। निर्माणका लागि चालु आर्थिक वर्ष २०८३/0८४ मा ३६ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। यसअघि २०८२/0८३ मा २५ लाख रुपैयाँ छुट्याइएको थियो।

तीन रोपनी दुई आना क्षेत्रफलमा उद्यानसहित निर्माण हुने परिसरमा फाल्गुनन्दको ठूलो सालिकसँगै आठ वटा साना सालिक, विश्रामस्थल, काठेपिङ तथा च्याब्रुङ, साकेलालगायत सांस्कृतिक कार्यक्रमका लागि संरचना बनाइनेछ।
गाउँपालिकाले माङसेबुङलाई धार्मिक तथा सांस्कृतिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले योजना अघि बढाएको जनाएको छ। निर्माणाधीन सालिक अहिलेसम्म विश्वमै बनेका फाल्गुनन्दका सालिकमध्ये सबैभन्दा ठूलो र अग्लो हुने निर्माण समितिको दाबी छ।
फाल्गुनन्दको जन्म १९४२ कात्तिक २५ गते माङसेबुङ–२ इभाङमा भएको थियो। किरात धर्म, भाषा, संस्कार, संस्कृति र सामाजिक सुधारमा योगदान पुर्याएका उनलाई नेपाल सरकारले २०६६ मङ्सिर १६ गते राष्ट्रिय विभूति घोषणा गरेको थियो।