११ दिनपछि १५ महिनाका बालकको सकुशल उद्धार

अपहरण आरोपमा महिला पक्राउ

Lite Nepal

मंगलबार, भाद्र ३०, २०८३

जनकपुरधाम । धनुषाको विदेह नगरपालिका–६ तीनकोरियाबाट हराएका १५ महिनाका बालक सिधान्त महतोको ११ दिनपछि प्रहरीले सकुशल उद्धार गरेको छ।

बालकलाई अपहरण गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) ओमप्रकाश खनालका अनुसार कमलेश महतोका छोरा सिधान्त भदौ १८ गते अपराह्न करिब ४:४० बजे आफ्नै घरको आँगनमा खेलिरहेको अवस्थामा बेपत्ता भएका थिए।

बालक हराएको सूचना पाउनासाथ प्रहरी चौकी गिद्धाबाट तत्काल टोली परिचालन गरिएको थियो। बालकको खोजीका लागि जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक (एसपी) रुपेश खड्काको कमान्डमा ६० जनाको विशेष टोली खटिएको थियो।

खोजी कार्यमा तालिमप्राप्त कुकुरको समेत प्रयोग गरिएको प्रहरीले जनाएको छ।घटनाको थप अनुसन्धानका लागि डीएसपी खनाल र मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक बबिन्द्र नेम्बाङको कमान्डमा प्रादेशिक सूचना विश्लेषण तथा अनुसन्धान समूहको संयुक्त टोली सक्रिय पारिएको थियो।नेपाल र भारतका विभिन्न ठाउँमा लुकाइयोअनुसन्धानका क्रममा बालकलाई कमला नगरपालिका–९ हथलेट्वाकी करिब ४१ वर्षीया पुनिता देवी पासवानले अपहरण गरेको खुलेको छ।

उनले बालकलाई लगातार स्थान परिवर्तन गर्दै नेपाल र भारतका विभिन्न ठाउँमा लुकाएर राखेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी खनालले बताए।प्रहरीले धनुषाका सम्पूर्ण नाकाहरूमा २४सै घण्टा कडा निगरानी राख्नुका साथै प्राविधिक अनुसन्धान लाई तीव्र पारेको थियो।

प्रहरीको घेराबन्दी परेपछि बालक छाडेर फरार, दशगजाबाट पक्राउ

प्रहरीको चौतर्फी घेराबन्दी र दबाबपछि अपहरणकारी महिलाले भदौ २९ गते दिउँसो करिब ३:३५ बजे बालकलाई उनको घरभन्दा करिब ३०० मिटर दक्षिण सडकछेउमा छाडेर भागेकी थिइन्।

प्रहरीले तत्कालै बालकको उद्धार गरी स्वास्थ्य परीक्षणपश्चात् अभिभावकको जिम्मा लगाएको छ। बालकको स्वास्थ्य अवस्था सामान्य रहेको छ।बालकलाई छाडेर भारततर्फ भाग्दै गरेकी पुनिता देवी पासवानलाई प्रहरीले सोही दिन साँझ करिब ३:४५ बजे विदेह नगरपालिका–१ महिनाथपुरस्थित नेपाल-भारत सीमा (दशगजा क्षेत्र) बाट नियन्त्रणमा लिएको हो। पक्राउ परेकी पासवानविरुद्ध अपहरण, शरीर बन्धक तथा मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं