काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने निर्णय गरेको छ।
बुधबार रास्वपा संसदीय दलको कार्यालय, सिंहदरबारमा बसेको बैठकपछि नेकपाका नेता माधवकुमार नेपालले मुख्यतः दुई विषयमा छलफल भएको जानकारी दिए। उनका अनुसार सर्वदलीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने र संसद्भित्र विशेष समिति गठनका लागि सभामुखलाई आग्रह गर्ने विषयमा छलफल भएको हो।

उनका अनुसार बैठकमा आठ वटा दलका नेताहरूको सहभागिता थियो। नेता नेपालले आफू प्रधानमन्त्री हुँदा सन् २००९ मा सगरमाथाको आधार शिविरमा मन्त्रिपरिषद्को बैठक आयोजना गरेको स्मरण गर्दै त्यस बैठकबाट सगरमाथा घोषणापत्र जारी गरिएको बताए। उक्त घोषणापत्रले विश्वको ध्यानाकर्षण गरेको उनको भनाइ थियो।
रास्वपा सांसद जगदीश खरेलले बाढीपछि रास्वपा सभापति रवि लामिछानेको संयोजकत्वमा रहेको उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने निर्णय भएको बताए। उनका अनुसार बैठकले जनमोर्चालाई समेत उक्त संयन्त्रमा समावेश गर्ने निर्णय गरेको छ।