विराटनगर । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस परिसरमा रहेका १३ वटा जोखिमयुक्त मसला जातका रुख कटान गरिएको छ। रुख कटानको विरोध गर्दै विद्यार्थी, स्थानीयवासी तथा वातावरण अभियन्ताहरूले वातावरणीय अध्ययन र पूर्वजानकारीबिना रुख काट्न नहुने माग गर्दै आएका थिए। उनीहरूले रुख कटानअघि वातावरणीय प्रभाव र वैकल्पिक व्यवस्थाबारे अध्ययन गर्नुपर्ने बताएका थिए।
यता, नेपाल वन पैदावार उद्योग व्यवसायी संघ, मोरङले क्याम्पसले प्रचलित कानुन तथा निर्धारित प्रक्रिया पूरा गरी सार्वजनिक लिलाममार्फत रुख बिक्री गरेको जनाएको छ। संघका अनुसार उक्त रुखहरू ७ लाख ४६ हजार ९ सय ९९ रुपैयाँमा सार्वजनिक लिलाममार्फत बिक्री गरिएको हो।

संघले सार्वजनिक निकायले कानुनी प्रक्रिया पूरा गरी गरेको लिलाम वा निर्णयप्रति असहमति भए त्यसको समाधान विधिसम्मत र कानुनी प्रक्रियाबाट खोजिनुपर्ने जनाएको छ। लिलामबाट रुख सकार गरेका व्यवसायीले आवश्यक प्रक्रिया पूरा गरिसकेको अवस्थामा कटानका क्रममा विभिन्न व्यक्तिहरूबाट अवरोध सिर्जना गरिएको भन्दै संघले आपत्ति जनाएको छ।
संघका अध्यक्ष रामकुमार दाहालद्वारा जारी विज्ञप्तिमा सामाजिक सञ्जाल तथा माइकिङमार्फत विषयलाई बढाइचढाइ प्रस्तुत गर्दा स्थानीय सामाजिक सद्भाव र शान्तिपूर्ण वातावरणमा असर पर्न सक्ने भन्दै संयमित रूपमा विवाद समाधान गर्न सम्बन्धित पक्षलाई आग्रह गरिएको छ।
विज्ञप्तिमा लिलाम प्रक्रियाबाट रुख सकार गरेका व्यवसायीहरूको लगानी तथा व्यावसायिक अधिकारको संरक्षण गर्नुपर्ने उल्लेख गर्दै विवाद भए सम्बन्धित निकायमार्फत कानुनी उपचार खोज्न आग्रह गरिएको छ। साथै, व्यवसायीलाई निर्वाध रूपमा काम गर्ने वातावरण बनाउन तथा उत्पन्न समस्या तत्काल समाधान गर्न क्याम्पस प्रशासन, डिभिजन वन कार्यालय र स्थानीय प्रशासनको ध्यानाकर्षण गराइएको छ यसैबीच, क्याम्पस प्रशासनले रुख कटान गरिएको स्थानमा वातावरणीय सन्तुलन कायम राख्ने गरी नयाँ बिरुवा रोप्ने जनाएको छ।
