विराटनगर । औषधि व्यवसाय सञ्चालन गर्दा पूरा गर्नुपर्ने करसम्बन्धी कानुनी दायित्व र प्रक्रियाबारे विराटनगरमा औषधि व्यवसायीलाई सचेत गराइएको छ ।
नेपाल औषधि व्यवसायी संघ मोरङको आयोजनामा आन्तरिक राजस्व कार्यालय विराटनगरको प्राविधिक सहयोगमा बुधबार भएको कार्यक्रममा सयभन्दा बढी व्यवसायी सहभागी थिए ।

कार्यक्रममा कर प्रणाली, भ्याट, प्यान, कर भुक्तानी, अभिलेख व्यवस्थापन, कर विवरण पेस गर्ने समयसीमा तथा जरिवानासम्बन्धी व्यवस्थाबारे जानकारी दिइएको थियो । व्यवसायीले करसम्बन्धी व्यावहारिक समस्या र जिज्ञासा राखेका थिए ।
आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख केशवकुमार उप्रेतीले करदाता र कर प्रशासनबीच सहकार्य आवश्यक रहेको बताउँदै कानुनी प्रावधानअनुसार समयमै करसम्बन्धी दायित्व पूरा गर्न व्यवसायीलाई आग्रह गरे । संघका अध्यक्ष देशबन्धु ढकालले करसम्बन्धी सही जानकारीले व्यवसायलाई पारदर्शी र व्यवस्थित बनाउन सहयोग पुग्ने बताए ।
