विराटनगर । नेपाल–भारत सीमा नाकाबाट लागुऔषध भित्र्याउने क्रममा दुई भारतीय महिला प्रहरीको फन्दामा परेका छन्। मोरङ प्रहरीले विराटनगर महानगरपालिका–१७ पोठियाबाट ९० ग्राम ५८० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित दुई महिलालाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार उनीहरूलाई शंकास्पद अवस्थामा फेला पारी खानतलासी गर्दा उक्त पदार्थ बरामद भएको थियो। पक्राउ परेका दुवै जना भारतीय नागरिक रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

बरामद पदार्थसहित उनीहरूलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय रानीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले आवश्यक कानुनी प्रक्रिया अघि बढाएको छ।