काठमाडौं । नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ प्रहरी सहायक निरीक्षक (असई) र प्रहरी कार्यालय सहयोगीका विभिन्न पदमा गरी ३३४ जनाका लागि नयाँ भर्ना खुलाएको छ।
नेपाल प्रहरी प्रधान कार्यालयअन्तर्गत मानव स्रोत विकास विभागको वृत्ति विकास महाशाखा, भर्ना छनोट शाखाले शुक्रबार एक सूचना जारी गर्दै खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न योग्य नेपाली नागरिकबाट आवेदन माग गरेको हो।

सूचनाअनुसार प्रहरी सहायक निरीक्षक (जनपद)पदमा २११ जना माग गरिएको छ। त्यस्तै, प्रहरी कार्यालय सहयोगीतर्फ भान्छे ८३, हजाम १५ र कुचीकार २५ जना माग गरिएको छ।
इच्छुक उम्मेदवारले असोज १२ गतेदेखि कात्तिक १० गतेसम्म नेपाल प्रहरीको आधिकारिक वेबसाइट www.nepalpolice.gov.np मार्फत आवेदन दिन सक्नेछन् ।
प्रहरी सहायक निरीक्षकका लागि अनलाइन माध्यमबाट आवेदन लिन सकिनेछ भने प्रहरी कार्यालय सहयोगी पदका लागि भने उम्मेदवार स्वयं उपस्थित भएर तोकिएका कार्यालयमा आवेदन दिनुपर्नेछ।




