सुनसरी । बराहक्षेत्र नगरपालिका–९, श्रीलङ्का टप्पुका अर्जुन चन्द्रवंशीले आफ्ना चार छोरालाई कृषि पेसामा आबद्ध गराएका छन् । करिब दुई दशकदेखि गोलभेँडालगायत तरकारी खेती गर्दै आएका उनले कृषिलाई नै परिवारको मुख्य आम्दानीको स्रोत बनाएका छन् ।
उनको खेतमा वर्षभरि गोलभेँडा, कोभी, बोडीलगायतका तरकारी उत्पादन हुने गरेको छ । अर्जुनका चार छोरा रामविलास, लक्ष्मण, श्रीराम र जादुलाल चन्द्रवंशी पनि बाबुकै लयमा कृषि पेसामा दत्तचित्त भएर लागेका छन् ।

“छोराहरू विदेश जाने भन्थे । मैले नेपालमै रु। ५० हजार दिन्छु भनेर विदेश जान दिइनँ । अहिले नेपालमै बसेर सबै छोराले लाखौँ रुपैयाँ कमाउन सक्ने भएका छन्,” अर्जुनले भने ।
विदेश गएर दुःख गर्नुभन्दा नेपालमै मिहिनेत गरेर राम्रो आम्दानी गर्न सकिन्छ भन्ने सोचले चारै जना छोरालाई कृषिमा लगाएको उनले बताए । उनका अनुसार पहिले सडक तथा यातायातको सुविधा थिएन । दुई–चार कट्ठामा गरिएको खेती टाउकोमा बोकेर बजारसम्म पुर्याउनुपर्थ्यो । अहिले भने व्यापारीहरू बारीमै गाडी लिएर आउने गरेका छन् ।
चन्द्रवंशी परिवारले हाल पाँच बिघामा गोलभेँडा खेती गर्दै आएको छ । साथै केही जग्गामा मौसमी तरकारीसमेत लगाइएको छ । गोलभेँडाको मुख्य सिजन कात्तिक–मङ्सिरदेखि फागुन–चैतसम्म अर्जुनको फार्ममा ५० जनाभन्दा बढी कामदारले काम गर्ने गरेका छन् । अफसिजनमा पनि २५ जना ज्यालादारी कामदार खेतमा खटिने गरेको अर्जुनले जानकारी दिए ।
गत वर्ष गोलभेँडाको मूल्य राम्रो हुनुका साथै मौसमले समेत साथ दिएकाले करिब रु। एक करोड बराबरको कारोबार भएको उनले बताए ।
“यस वर्ष कस्तो हुन्छ, हेरौँ । मूल्य राम्रो नभए पनि सबै खर्च कटाएर वार्षिक रु। ६० लाखसम्म मज्जाले आम्दानी हुन्छ,” उनले भने ।
अर्जुनका छोरा श्रीरामका अनुसार गोलभेँडाको मूल्य बजारको माग र उत्पादनअनुसार फरक हुने गरेको छ । सामान्य अवस्थामा प्रतिकिलो रु। ३० देखि ५० तथा कहिलेकाहीँ रु। ८० देखि ९५ सम्ममा बिक्री हुने गरेको छ । तर, कहिलेकाहीँ प्रतिकिलो रु। पाँचमा समेत बिक्री गर्नुपर्ने अवस्था आउने गरेको उनले बताए ।
“मङ्सिरदेखि वैशाखसम्म गोलभेँडाको मूल्य राम्रो हुन्छ । राम्रो मूल्य भएको समयमा एकै दिन रु। तीन लाखभन्दा बढीको गोलभेँडा बिक्री हुने गरेको छ,” श्रीरामले भने, “बोडी, काँक्रा, कोभीलगायत मौसमी तरकारी पनि सिजनअनुसार बिक्री हुने गरेको छ ।”
अर्जुनका माइला छोरा लक्ष्मण चार वर्ष मलेसियामा बसेर नेपाल फर्किएपछि अहिले बुबालाई खेतीमा सघाइरहेका छन् ।
“विदेशभन्दा नेपालमा कमाइ राम्रो छ । कृषि खेती हाम्रो पुख्र्यौली पेसा हो । सुरुआती समयमा आलु, कोभीलगायत तरकारी खेती गर्दै आएका थियौँ । पछिल्लो समय गोलभेँडा खेतीबाट राम्रो आम्दानी हुन थालेपछि यसको क्षेत्र विस्तार गरियो,” उनले भने ।
औपचारिक तालिमभन्दा पनि सामाजिक सञ्जालबाट जानकारी लिएर कृषि गरिरहेको लक्ष्मणले बताए । “हामीले सामाजिक सञ्जालमा हेरेर नै व्यावसायिक खेती गरिरहेका छौँ,” उनले भने ।
करिब १२ बिघा जमिनमध्ये पाँच बिघामा गोलभेँडा तथा अन्य तरकारी खेती गरिँदै आएको उनले बताए । बाँकी जमिनमा मकै तथा धान लगाउने गरिएको छ ।
“उत्पादित गोलभेँडा बिक्रीका लागि बजारको समस्या छैन । हामीले बजार खोज्दै जानु पर्दैन । व्यापारी आफैँ खेतमा आउँछन् । यहाँबाट खरिद गर्दा बजारको मूल्यभन्दा कममा दिने गरेका छौँ,” लक्ष्मणले भने ।
धनकुटा, धरान, इटहरी, गाईघाट, राजविराज, झापालगायतका स्थानबाट व्यापारी गोलभेँडा खरिद गर्न खेतमै आउने गरेका छन् । यो खेतीमा लगानी बढिरहेको र दुःख पनि उत्तिकै रहेको लक्ष्मणले बताए । लगानीअनुसार उत्पादन राम्रो हुने भएकाले घाटा नहुने उनको अनुभव छ ।
“अहिले यही खेतीबाट परिवारका सबै सदस्यलाई रोजगारी मिलेको छ भने अरूलाई पनि रोजगारी दिन सकिएको छ,” उनले भने ।
बराहक्षेत्र नगरपालिका–६ र ९ स्थित श्रीलङ्का टप्पुमा मात्र करिब तीन सय बिघा क्षेत्रफलमा गोलभेँडा खेती हुने गरेको छ । अधिकांश किसानले गोलभेँडासँगै अन्य मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आएका छन् ।
सुनसरीमा हाल आठ हजार १५३ हेक्टर क्षेत्रफलमा तरकारी खेती हुँदै आएको कृषि ज्ञान केन्द्र सुनसरीका सूचना अधिकृत प्रविनलाल श्रेष्ठले जानकारी दिए ।
बराहक्षेत्र नगरपालिकामा गोलभेँडा, कोभी, बोडीलगायतका तरकारीको उत्पादन राम्रो हुँदै आएकाले यहाँका अधिकांश किसान व्यावसायिक तरकारी खेतीमा लागेको नगरप्रमुख रमेश कार्कीले बताए ।
श्रीलङ्का टप्पुका ९० प्रतिशत स्थानीय कृषि तथा तरकारी उत्पादनमा केन्द्रित छन् । श्रीलङ्का टप्पु तरकारी खेतीका लागि प्रख्यात क्षेत्र हो । स्थानीय किसानको उत्पादन वृद्धि गर्न नगरपालिकाले प्रोत्साहनस्वरूप मल, बीउलगायत सामग्रीमा अनुदान दिँदै आएको नगरप्रमुख कार्कीले जानकारी दिए ।