Lite Nepal

शनिबार, आश्विन ०३, २०८३

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले संविधानको अक्षर र भावनाअनुसार सुशासन, विकास, समृद्धि तथा सामाजिक न्याय सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ को मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले संविधान राम्रो भए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसके कागजमै सीमित हुने बताए।

उनले भ्रष्टाचार र दण्डहीनताको अन्त्य सरकारको प्रमुख प्राथमिकता रहेको उल्लेख गरे। प्रशासनिक संरचनाको उपयुक्त आकार निर्धारण, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, प्रशासनिक संयन्त्रमा राजनीतिक तटस्थता तथा सार्वजनिक पदमा योग्यताका आधारमा नियुक्ति प्रक्रिया अघि बढाइएको उनको भनाइ थियो।

“सुशासन नारा होइन, काम हो। र हामी काम गरिरहेका छौँ,” प्रधानमन्त्री शाहले भने। सरकारले परम्परागत विकासको बाटोमा मात्र निर्भर नभई कृत्रिम बुद्धिमत्ता, डिजिटल प्रविधि, साइबर सुरक्षा, नवप्रवर्तन तथा स्टार्टअपलाई प्राथमिकता दिँदै ज्ञानमा आधारित अर्थतन्त्र निर्माण गर्ने उनले बताए। डिजिटल सुशासन ब्लुप्रिन्टअनुसार राष्ट्रिय डिजिटल पूर्वाधार निर्माणलाई अघि बढाइने उनको भनाइ छ।

प्रधानमन्त्री शाहले संघ, प्रदेश र स्थानीय तहबीच सहकारिता, सहअस्तित्व र समन्वयमार्फत विकासको साझा लक्ष्य हासिल गर्न सरकार प्रतिबद्ध रहेको बताए।

सम्बोधनका क्रममा उनले रसुवा–भोटेकोशी बाढीमा परी मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे। उद्धार तथा राहत कार्यमा सहयोग गर्ने मित्रराष्ट्र, अन्तर्राष्ट्रिय समुदाय, संघसंस्था, निजी क्षेत्र, राष्ट्रसेवक कर्मचारी र नागरिकप्रति उनले धन्यवाद व्यक्त गरे।

नेपाल उच्च विपद् जोखिममा रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले विपद् आएपछि मात्र उद्धारमा केन्द्रित हुनेभन्दा जोखिम न्यूनीकरण र पूर्वतयारीलाई प्राथमिकता दिनुपर्ने बताए। विपद्को पूर्वसूचना प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याइने उनले बताए।

संविधान दिवस हरेक वर्ष मनाइए पनि संविधानका प्रतिबद्धता व्यवहारमा कार्यान्वयन गर्नु महत्वपूर्ण रहेको प्रधानमन्त्री शाहको भनाइ थियो। पारदर्शी नियुक्ति, प्रभावकारी सार्वजनिक सेवा र इमानदार निर्णयमार्फत संविधानका उद्देश्य पूरा गर्नुपर्ने उनले बताए। “शहीदहरूको रगतले लेखेको संविधान, हामी कामले पूरा गर्छौँ,” प्रधानमन्त्री शाहले भने।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं