काठमाडौं । अमेरिकाले ‘एआई फोर्स’ गठन गर्ने भएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सल्लाहकार नियुक्त गर्ने योजनासँगै यस्तो फोर्स गठन गर्ने घोषणा गरेका हुन्।
ट्रम्पले शनिबार आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत एआईसम्बन्धी उक्त योजनाबारे जानकारी दिएका हुन्। यद्यपि, उनले फोर्सको संरचना, कार्यक्षेत्र र त्यसलाई कार्यान्वयन गर्ने प्रक्रियाबारे विस्तृत जानकारी दिएका छैनन्।

अमेरिका र चीनबीच एआई क्षेत्रमा विश्वव्यापी वर्चस्व कायम गर्ने प्रतिस्पर्धा चलिरहेका बेला ट्रम्पको यस्तो घोषणा आएको हो। ट्रम्पको बिहीबार चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
ट्रम्पले आफ्नो प्रशासनले एआई प्रविधिको विकास र विस्तारलाई प्रोत्साहन गर्ने बताएका छन्। एआईको सम्भावित दुरुपयोग तथा गलत कार्यलाई विद्यमान आपराधिक तथा नागरिक न्याय प्रणालीमार्फत सम्बोधन गरिने उनको भनाइ छ।
यसअघि ट्रम्पले सन् २०१९ मा ‘स्पेस फोर्स’ गठन गरेका थिए। ट्रम्पले एआई उद्योगको विकासमा कुनै किसिमको अवरोध सिर्जना नगर्ने बताएका छन्।
उनले भनेका छन्, “हामी यो शानदार उद्योगको वृद्धिलाई कुनै पनि हालतमा रोक्ने वा दबाउने छैनौँ। यसको सट्टा, हामी यसलाई महत्त्व दिनेछौँ, सहयोग गर्नेछौँ र यसको विस्तारमाथि नजर राख्नेछौँ।”
ट्रम्पले एआई र डेटा सेन्टरका आलोचकहरूप्रति पनि असन्तुष्टि व्यक्त गरेका छन्। उनले केही उदारवादी समूहले एआई उद्योगलाई ‘ध्वस्त पार्न’ चाहेको आरोप लगाउँदै त्यसो हुन नदिने बताएका छन्। “अमेरिकाको राष्ट्रपतिका रूपमा म यस्तो हुन दिनेछैनँ,” ट्रम्पले भनेका छन्।