काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले मधेसलाई जात, धर्म, भूगोल वा राजनीतिको नाममा विभाजित गरी द्वन्द्वको मैदान बनाउन नहुने बताएका छन्। आइतबार जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै सिंहले मधेसलाई कुनै पनि बहानामा विभाजन गरेर द्वन्द्वतर्फ लैजान नहुने बताएका हुन्।
उनले मधेस रास्वपाको राजनीतिक आधार क्षेत्र रहेको उल्लेख गर्दै अबको राजनीति समाजलाई जोड्ने, राष्ट्रिय एकता कायम गर्ने र आर्थिक समृद्धितर्फ केन्द्रित हुनुपर्ने बताए। मधेस र कोशी प्रदेशलाई ‘ब्याटल ग्राउन्ड’ बनाउन देशभित्र र बाहिरका विभिन्न शक्ति सक्रिय रहेको दाबी गर्दै उनले त्यस्ता गतिविधिबाट मुलुकलाई जोगाउनुपर्ने बताए।

“हाम्रो अहिलेको बाटो एकताको बाटो हुनुपर्छ, समृद्धिको बाटो हुनुपर्छ। म कुनै पनि तरिकाको मधेसमा द्वन्द्व चाहन्नँ। मधेसलाई आउने दिनमा ब्याटल ग्राउन्ड बनाउन दिइँदैन,” सिंहले भने। सिंहले छठपछि मेची–महाकाली पदयात्रा गर्ने घोषणा पनि गरेका छन्। मधेसबाट प्राप्त जनमतलाई सरकारले गम्भीर रूपमा बुझ्नुपर्ने बताउँदै उनले मधेसको विकासका लागि सोहीअनुसार प्राथमिकता दिनुपर्ने धारणा राखे।