काठमाडौं । सरकारले विद्युत् महसुलमा चालू आर्थिक वर्षदेखि लागू गरेको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउने तयारी गरेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीच भएको छलफलमा भ्याट हटाउने विषयमा सैद्धान्तिक सहमति जुटेको हो ।

आइतबार भएको दुई मन्त्रीबीचको छलफलमा विद्युत् महसुलमा लगाइएको कर हटाउने विषयमा सहमति बनेको ऊर्जा मन्त्रालय स्रोतले जनाएको छ ।
अब अर्थमन्त्री वाग्लेले भ्याट हटाउने प्रस्ताव आगामी मन्त्रिपरिषद् बैठकमा पेस गर्ने तयारी गरेका छन् ।
मन्त्रिपरिषद्ले प्रस्ताव स्वीकृत गरेपछि विद्युत् महसुलमा हाल लागू रहेको भ्याट हट्नेछ ।
सरकारले चालू आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत विद्युत् खपतमा भ्याट लागू गरेको थियो ।
हालको व्यवस्थाअनुसार घरायसी ग्राहकले मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत गरेमा ५ प्रतिशत भ्याट तिर्नुपर्ने व्यवस्था छ ।
त्यस्तै, औद्योगिक तथा अन्य ग्राहकका लागि विद्युत् महसुलमा १३ प्रतिशत भ्याट लगाइएको छ ।
बजेटमार्फत लागू गरिएको व्यवस्था कार्यान्वयनमा आएको करिब दुई महिनामै विद्युत् महसुलमा लगाइएको भ्याट हटाउने तयारी अघि बढाइएको हो।