काठमाडौं । आज (मंगलबार) हरिपरिवर्तिनी एकादशी मनाइँदैछ । भाद्र शुक्ल पक्षको एकादशी तिथिलाई हरिपरिवर्तिनी एकादशी (वामन एकादशी वा जयन्ती एकादशी) भनिन्छ । जसमा भगवान विष्णुले शीर सागरमा शयन गर्दा कोल्टे फेर्ने धार्मिक विश्वास रहन्छ ।
यस दिन निष्ठापूर्वक व्रत बस्नाले सम्पूर्ण पाप नाश भई फल प्राप्त हुने शास्त्रीय मान्यता छ । एकादशीको दिन बिहानै स्नान गरी भगवान विष्णु (हृषिकेश)को पूजा, आराधना र फलाहार वा निराहार व्रत बस्ने गरिन्छ ।

संस्कृतिविद् डा. माधव भट्टराई अनुसार आषाढ शुक्ल एकादशीका दिन भगवान नारायण शयनमा जान्छन् भने भाद्र शुक्ल एकादशीका दिन कोल्टे फेर्ने भएकाले यसलाई हरिपरिवर्तिनी वा हरिकोल्टे एकादशी भनिन्छ । भगवान विष्णु शयनमा रहने चार महिनाको अवधिलाई चतुर्मास भनिन्छ ।
उनले यस अवधिका तीन प्रमुख एकादशीमध्ये आषाढ शुक्ल एकादशीलाई हरिशयनी, भाद्र शुक्ल एकादशीलाई हरिपरिवर्तिनी र कात्तिक शुक्ल एकादशीलाई हरिबोधिनी एकादशीका रूपमा मनाइने बताए । त्यसैले चतुर्मासको बिचमा पर्ने हरिपरिवर्तिनी एकादशीको धार्मिक महत्त्व विशेष रहेको उनले बताए ।
उनले भने, ‘चौमासाका पनि मुख्य तीनटा एकादशी पर्छन । एउटा हरिशयनी, अर्को, हरिपरिवर्तिनी र हरिबोधिनी हो । त्यसमध्यको बिचमा पर्ने हरिपरिवर्तिनी हो । त्यसैको भोलिपल्ट वामन द्वादशी पर्वको शृङ्खलामा आएको हुनाले पनि यसको महत्त्व धेरै मानिन्छ ।’
हरिपरिवर्तिनी एकादशीको भोलिपल्ट वामन द्वादशी पर्ने भएकाले पनि पर्वहरूको शृङ्खलामा यसको विशेष स्थान रहेको संस्कृतिविद् भट्टराईले बताए ।
उनले एकादशीको व्रतलाई केवल खाना नखाने विषयका रूपमा बुझ्न नहुने बताउँदै यसलाई नियम, अनुशासन र आत्मसंयमसँग जोड्नुपर्ने बताए । उनका अनुसार मानिसका पाँच कर्मेद्रीय, पाँच ज्ञानेन्द्रीय र मन गरी ११ वटा इन्द्रियलाई नियन्त्रणमा राख्ने अभ्यासका रूपमा एकादशीको व्रतलाई लिन सकिन्छ ।
भट्टराईले नियमित रूपमा गरिने उपवासले पाचन प्रणालीलाई आराम दिने तथा शरीरलाई केही समय खानपानको नियमित चक्रबाट विश्राम दिने अभ्यासका रूपमा लिन सकिने बताए । उनले पछिल्लो समय पश्चिमी समाजमा समेत ‘फास्टिङ’को अभ्यास बढिरहेको उल्लेख गरे ।
स्वास्थ्य अवस्था, उमेर र शारीरिक क्षमताअनुसार मात्रै व्रत बस्नुपर्ने उनले बताए । निराहार बस्न नसक्नेले आफ्नो क्षमताअनुसार फलाहार वा सात्त्विक तथा शुद्ध भोजन गरेर पनि एकादशीको धार्मिक भावना पालना गर्न सकिने उनले बताए ।
भट्टराईले एकादशीको अर्को महत्वपूर्ण पक्ष भगवानको चिन्तन र सकारात्मक सोचको विकास भएको बताए । उनका अनुसार व्रतका क्रममा शारीरिक रूपमा मात्र नभई मानसिक रूपमा पनि शुद्ध रहन आवश्यक छ । उनले कसैको अहित नचिताउने, सकारात्मक सोच राख्ने र ‘सर्वे भवन्तु सुखिनः’ भन्ने भावनाको विकास गर्नुपर्ने बताए ।
उनले एकादशीका दिन स्नान गरी शरीर र मन दुवैलाई शुद्ध राख्नुपर्ने बताउँदै आफूले सक्नेअनुसार भगवानको पूजा तथा आराधना गर्न सकिने बताए । मन्दिर जान नसक्नेले घरमै बसेर भगवानको स्मरण तथा पूजा गर्न सक्ने उनले बताए ।
पूजाका क्रममा धूप, दीप, अक्षता, चन्दन, फूललगायत सामग्री आफ्नो क्षमताअनुसार प्रयोग गर्न सकिने उनले बाताए । उनले आर्थिक रूपमा सक्षम व्यक्तिले वस्त्र वा अन्य सामग्रीसमेत अर्पण गर्न सक्ने भए पनि भगवानलाई भौतिक वस्तुभन्दा श्रद्धा, भक्ति र प्रेम महत्वपूर्ण हुने उल्लेख गरे ।
भट्टराईका अनुसार एकादशी प्रत्येक १५ दिनमा आउने भएकाले यसलाई नियमित आत्मसंयम र अनुशासनको अभ्यासका रूपमा लिन सकिन्छ । उनले एकादशीको व्रतलाई नेपाली सनातनी परम्परामा अत्यन्त महत्वपूर्ण व्रतका रूपमा स्थापित गरिएको समेत बताए । यसरी हरिपरिवर्तिनी एकादशी धार्मिक आस्था र भगवान विष्णुको शयनसँग मात्र नभई आत्मसंयम, अनुशासन, शारीरिक विश्राम, मानसिक शुद्धता र सकारात्मक सोचको अभ्याससँग समेत जोडिएको संस्कृतिविद् भट्टराईले बताए ।