काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडा खत्रीले सहिद परिवारले न्यायको प्रत्यक्ष अनुभूति गर्ने गरी काम गर्न सरकारसँग आग्रह गरेकी छन्। मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले जेनजी आन्दोलनमा सहिद भएका आफ्ना छोरा रसिक खतिवडाको शवसँग सांसद पद साटेको आरोपको खण्डन गर्दै आफू भावुक बनेकी थिइन्।
व्यवसायी दुर्गा प्रसाईंले आफूले छोराको शवसँग सांसद पद साटेको आरोप लगाएको भन्दै सांसद खतिवडाले त्यस्ता अभिव्यक्ति दिनुअघि हजारपल्ट सोच्न आग्रह गरिन्। “सरकारले बाटो बिरायो भने जेनजी सहिदकी आमाले खबरदारी गर्नुपर्छ भनेर यहाँ आएकी हुँ,” उनले भक्कानिँदै भनिन्, “सहिदले पूर्णरूपमा न्याय पाउँछन् भने मैले सांसद पदबाट राजीनामा दिन हिचकिचाहट हुँदैन।”

उनले आफूलाई छोराको लाशमाथि सांसद पद साटेको आरोप लगाइएको भन्दै त्यसप्रति आपत्ति जनाइन्। “तपाईंहरूका छोराछोरी तपाईंहरूसँग छन्। मेरो संसार उजाडिएको छ, मेरो काख रित्तिएको छ। यो ठाउँमा उभिएर तपाईंहरू एकपल्ट हेरिदिनुहोला,” उनले भनिन्, “छोरा मेरो काखमा आउँछ भने पद त्याग्न तयार छु।”
सांसद खतिवडाले आफू मेडिकल माफिया बन्न नआएको बताउँदै सरकारका कतिपय कामप्रति आफ्नो असहमति रहे पनि जिम्मेवार ढंगले बोल्दै आएको दाबी गरिन्। “बोल्नुअघि हजारपल्ट सोचिदिनू,” प्रसाईंप्रति संकेत गर्दै उनले भनिन्, “म मेडिकल माफिया बन्न आएकी होइन। यो सरकारसँग पनि थुप्रै असहमति छन् तर जिम्मेवार भएर बोल्छु। एउटी सहिदकी आमाको यत्रो अपमान हुँदा सरकार के हेरेर बसेको छरु हाम्रा छोराहरूको रगत अझै सुकेको छैन।”
उनले आन्दोलनका क्रममा थुनामा रहेका सम्पूर्ण जेनजी थुनुवालाई विनासर्त तत्काल रिहा गर्न पनि सरकारसँग माग गरिन्। त्यस्तै, आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचारका लागि आवश्यक परे संसारको जुनसुकै स्थानमा लैजानुपर्ने भए पनि राज्यले सम्पूर्ण खर्च व्यहोरेर निःशुल्क उपचारको व्यवस्था गर्नुपर्ने उनको माग थियो।