पाँचथर । पाँचथरमा इन्सास राइफलको गोली, बारुदजस्तो पदार्थ र खुकुरीसहित एक जना पक्राउ परेका छन्। पाँचथरको कुम्मायक गाउँपालिका–१, यासोक बजारमा धारिलो हतियार देखाएर धाकधम्की दिइरहेको सूचना पाएपछि खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा फिदिम नगरपालिका–६ निवासी सुसन तुम्रोक रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। प्रहरीका अनुसार तुम्रोकको शरीर खानतलासी गर्दा दुई थान खुकुरी, इन्सास राइफलको एक थान लाइभ राउन्ड र बारुदजस्तो देखिने २७.७१ ग्राम पदार्थ बरामद भएको थियो।

उनलाई खरखजाना तथा विस्फोटक पदार्थसम्बन्धी कसुरमा पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी निरीक्षक रामचन्द्र साहले जानकारी दिए।