संखुवासभा । कोसी राजमार्गअन्तर्गत खाँदबारी–तुम्लिङटार सभाखोला सडकखण्डमा दैनिक नौ घण्टा यातायात बन्द गरिएको छ ।
सदरमुकाम खाँदबारी–तुम्लिङटार सभाखोला सडकखण्डको करिब १७ किलोमिटर कालोपत्रे सडक मर्मत तथा चौडा गर्न यातायात बन्द गरिएको गरिएको सडक डिभिजन कार्यालय तुम्लिङटारका निमित्त प्रमुख इन्जिनियर मनोजकुमार मण्डलले बताए ।

खाँदबारीबाट सभाखोला सम्मको सडकखण्ड कालोपत्रे तथा चौडा गर्न असोज ६ गते देखि असोज ३० गते सम्म यातायात बन्द गरिएको कार्यालयले जनाएको छ । उक्त सडकखण्डमा बिहान ८ः०० बजे देखि १२ः०० बजे सम्म र दिउँसो १ः०० बजे देखि साँझ ६ः०० बजेसम्म कालोपत्रे सडक चौडा गर्न यातायात सञ्चालनमा रोक लगाइएको सडक डिभिजन कार्यालयका निमित्त प्रमुख मण्डलले बताए । समयमै काम सम्पन्न गर्नको लागि निर्माण कम्पनीको आग्रहमा यातायात बन्द गरिएको सडक डिभिजन कार्यालयले जनाएको छ ।
निषेधित समयमा यातायातका साधन वैकल्पिक सडक प्रयोग गर्न सक्ने बताइएको छ । उक्त सडकखण्ड बन्द गरी सडक मर्मत तथा स्तरोन्नतिको कार्य गरिने निर्णय भएको हो ।