काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले विचार मिल्ने कम्युनिस्ट पार्टीहरूबीच एकता प्रक्रिया अगाडि बढाउन वार्ता टोली गठन गरेको छ। पार्टीको केन्द्रीय कार्यालय कोटेश्वरस्थित पेरिसडाँडामा मंगलबार बसेको बैठकले नेता देव गुरुङको संयोजकत्वमा वार्ता टोली गठन गरेको हो। टोलीमा नेता प्रकाश ज्वाला र गंगानारायण श्रेष्ठ सदस्य छन्।
नेकपाका प्रवक्ता प्रकाश ज्वालाका अनुसार विचार र राजनीतिक दृष्टिकोण मिल्ने कम्युनिस्ट पार्टीहरूसँग एकताका लागि वार्ता अघि बढाइनेछ। नेकपाले नेकपा (एमाले) लगायतका कम्युनिस्ट दलसँग समेत एकताको तयारी गरिरहेको समयमा वार्ता टोली गठन गरेको हो। एमाले र नेकपाबीच पार्टी एकता गर्ने विषयमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच विभिन्न चरणमा छलफल भइरहेको बताइएको छ।
