धनकुटा । साँगुरीगढी गाउँपालिकाले व्यक्तिगत तथा नयाँ व्यवसाय दर्ताका लागि आवश्यक पर्ने स्थायी लेखा नम्बर (पान) गाउँपालिकाबाटै वितरण गर्न थालेको छ। यससँगै स्थानीय नागरिक तथा व्यवसायीले करसम्बन्धी सेवा लिन जिल्ला सदरमुकाम वा अन्य कार्यालय धाउनुपर्ने बाध्यता हटेको छ।
गाउँपालिका अध्यक्ष जितेन्द्र राईले मंगलबार पहिलो पान प्रमाणपत्र हस्तान्तरण गर्दै गाउँपालिकाबाट पान दर्ता तथा वितरण सेवाको औपचारिक शुभारम्भ गरे। साँगुरीगढी गाउँपालिका–६, सिम्सुवा नजिक बेल्बोटेस्थित सुब्बा ग्यारेजका सञ्चालक विवेक इवाहाङ गाउँपालिकाबाट पान दर्ता गर्ने पहिलो सेवाग्राही बने।

यसअघि व्यक्तिगत पान तथा नयाँ व्यवसाय सञ्चालनका लागि आवश्यक पान दर्ता गर्न सेवाग्राहीले जिल्लास्थित सम्बन्धित कार्यालय पुग्नुपर्ने अवस्था थियो। ग्रामीण तथा भौगोलिक रूपमा विकट क्षेत्रका नागरिकले सेवा लिन सदरमुकाम पुग्दा यातायात खर्च, समय तथा अतिरिक्त झन्झट व्यहोर्नुपरेको पहिलो सेवाग्राही इवाहाङले बताए।
विशेषगरी गाउँपालिकाभित्र व्यवसाय सञ्चालन गरिरहेका तथा नयाँ व्यवसाय सुरु गर्न चाहने युवा, उद्यमी, स्वरोजगार व्यक्ति, साना व्यवसायी तथा व्यक्तिगत रूपमा पान आवश्यक पर्ने नागरिकले स्थानीय तहमै सेवा पाएपछि समय र खर्च बचत हुने उनको भनाइ छ।
स्थानीय व्यवसायीका लागि व्यवसाय सञ्चालनको प्रारम्भिक चरणमै विभिन्न प्रशासनिक तथा कानुनी प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ। व्यवसाय दर्ता, पान दर्ता, बैंकिङ कारोबार, करसम्बन्धी प्रक्रिया तथा अन्य सरकारी कामका लागि पटक–पटक कार्यालय धाउनुपर्ने अवस्थाले साना व्यवसायीलाई थप समस्या हुँदै आएको थियो।
साँगुरीगढी गाउँपालिकामा पूर्वको प्रमुख पर्यटकीयस्थल भेडेटार रहेको छ। यहाँ पर्यटन, होटल तथा रेस्टुरेन्ट, यातायात, निर्माण, खुद्रा व्यापारलगायत कृषि क्षेत्रमा साना तथा मझौला व्यवसाय सञ्चालन हुँदै आएका छन्। ग्रामीण क्षेत्रमा स्वरोजगार तथा साना उद्यमको संख्या बढ्दै गएकाले आवश्यक सरकारी सेवा स्थानीय तहमै उपलब्ध हुँदा व्यवसायी तथा नागरिकलाई सहज हुने गाउँपालिका अध्यक्ष राईले बताए।
गाउँपालिकाका अनुसार पान दर्ता तथा वितरण सेवा स्थानीयस्तरमै उपलब्ध भएपछि व्यवसायलाई औपचारिक बनाउने, सरकारी अभिलेखमा व्यवसाय तथा व्यवसायीको विवरण व्यवस्थित गर्ने र करसम्बन्धी दायित्व पूरा गर्न नागरिकलाई सहज वातावरण निर्माण गर्न सहयोग पुग्नेछ।