Lite Nepal

बुधबार, आश्विन ०७, २०८३

खोटाङ । नेपाल बार एसोसिएसन खोटाङ एकाइले जिल्ला अदालत खोटाङबाट भएको फैसलालाई लिएर सार्वजनिक रूपमा अदालत तथा न्यायाधीशविरुद्ध भएका टीकाटिप्पणी र आलोचनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बार एसोसिएसनले विज्ञप्ति जारी गर्दै असोज ५ गते जिल्ला अदालत खोटाङबाट भएको फैसलालाई लिएर अदालत तथा न्यायाधीशविरुद्ध सार्वजनिक स्थानमा गरिएका अपमानजनक तथा असान्दर्भिक टीकाटिप्पणी र आलोचनाप्रति ध्यानाकर्षण भएको जनाएको हो ।

दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २६ वर्षीया रेश्मिका परियारको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका तीन जनालाई जिल्ला न्यायाधीश फणीन्द्रप्रसाद पराजुलीको एकल इजलासले असोज ५ गते सफाइ दिएको थियो । फैसलापछि पीडित परिवार तथा आफन्तले अदालत परिसरमै आक्रोश व्यक्त गर्दै नाराबाजी गरेका थिए ।

सोही घटनालाई लक्षित गर्दै नेपाल बार एसोसिएसन खोटाङले अदालत तथा न्यायाधीशविरुद्ध हुने सार्वजनिक टीकाटिप्पणीप्रति ध्यानाकर्षण गराएको हो ।

जिल्ला बार अध्यक्ष कुलप्रसाद शर्मा फुयालद्वारा जारी विज्ञप्तिमा फैसला तथा न्यायिक आदेशमा चित्त नबुझे प्रचलित कानुनबमोजिम पुनरावेदन, पुनरावलोकन तथा निवेदनलगायत न्यायिक उपचारका माध्यम अपनाउने अधिकार प्रत्येक पक्षलाई रहेको उल्लेख गरिएको छ ।

तर, फैसलाप्रति असहमति रहेको भन्दै अदालत वा न्यायाधीशको इज्जत, मानप्रतिष्ठा, चरित्र वा निष्ठामाथि प्रश्न उठाउने, अपमानजनक वा लाञ्छनायुक्त अभिव्यक्ति दिने तथा विषयलाई अतिरञ्जित रूपमा प्रचार गर्ने कार्यले न्यायपालिकाको स्वतन्त्रता, निष्पक्षता र जनआस्थामा प्रतिकूल प्रभाव पार्न सक्ने बारको भनाइ छ ।

विज्ञप्तिमा न्यायिक निर्णयप्रति असहमति व्यक्त गर्दा तथ्य र कानुनमा आधारित भएर मात्र धारणा राख्नुपर्ने उल्लेख गर्दै न्यायपालिकाको स्वतन्त्रता र निष्पक्षताको संरक्षण गर्नु सबैको कर्तव्य भएको जनाइएको छ ।

रेश्मिकाको हत्यामा संलग्न भएको आरोपमा गत जेठ १२ गते पक्राउ परेका बतासेका हेमन परियार, दीपक राई तथा दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ स–छितापोखरीका दीपक श्रेष्ठलाई अदालतले सफाइ दिएको हो ।

उच्च अदालतको आदेशमा पक्राउ गरी अनुसन्धान गर्दा उनीहरूमाथि लगाइएको आरोप प्रमाणित हुने पर्याप्त आधार नदेखिएपछि अदालतले सफाइ दिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले जानकारी दिएका छन् ।

घटनामा संलग्न भएको आरोप लागेका बतासेका १६ वर्षीय एक किशोर भने यसअघि नै दोषी ठहर भई कारबाही भोगिरहेका छन् । उनी १८ वर्षभन्दा कम उमेरका भएकाले कानुनबमोजिम नाम गोप्य राखिएको छ । अदालतको आदेशअनुसार ती किशोर सुधारगृहमा बसेर सजाय भुक्तान गरिरहेका छन् ।

दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ स–छितापोखरीस्थित अजम्बरी साना किसान कृषि सहकारी संस्थामा कार्यरत रेश्मिका विसं २०८२ भदौ ३० गते राति बतासेको ह्याकुले र रमितेडाँडाबीच पर्ने मार्से सामुदायिक वनमा मृत फेला परेकी थिइन् ।

सहकारीको कार्यालयबाट हिँडेकी रेश्मिका राति अबेरसम्म घर नफर्किएपछि परिवार तथा स्थानीयले खोजी गरेका थिए । खोजीका क्रममा सडकबाट करिब २०० मिटर तल बाँसघारीमा उनको शव फेला परेको थियो ।

प्रत्यक्षदर्शीका अनुसार रेश्मिकाको चप्पल सडकको कुनामा भेटिएको थियो भने सडकदेखि शव भेटिएको स्थानसम्म घिसारिएको र झाडी मडारिएको देखिएको थियो । झाडी मडारिएको स्थानभन्दा केही तल उनको झोला र अन्डरवेयरसमेत भेटिएको बताइएको छ ।

प्रहरीका अनुसार सबैभन्दा तल घाँटीमा कालो सल बेरेको अवस्थामा रेश्मिकाको शव फेला परेको थियो । अन्डरवेयर पाखामा भेटिए पनि शव भने लुगा लगाएको अवस्थामा रहेको प्रत्यक्षदर्शीले बताएका छन् ।

एक छोरीकी आमा रेश्मिकाको बलात्कारपछि हत्या भएको भन्दै आफन्त तथा स्थानीयले घटनामा संलग्न व्यक्तिको पहिचान गरी कडा कानुनी कारबाही गर्न माग गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं