Lite Nepal

बिहिबार, आश्विन ०८, २०८३

भोजपुर । भोजपुरमा व्यावसायिक रूपमा लगाइएको अकबरे खुर्सानीमा ‘कोत्रे’ (डढुवा)  रोगको प्रकोप देखिएपछि किसान चिन्तित बनेका छन्। खुर्सानी फल्ने, पाक्ने र बजारमा बिक्रीका लागि तयार हुने समयमा डढुवा, किराको प्रकोप, बोट सुक्ने तथा जरा कुहिनेजस्ता समस्या देखिएपछि किसान समस्यामा परेका हुन्।

भोजपुर नगरपालिका–५ बोखिमका अगुवा किसान अनिल श्रेष्ठले खुर्सानीमा कोत्रे अर्थात् डढुवा रोगको सङ्क्रमण देखिएको बताए। उनका अनुसार रोग लागेको एक साताभित्रै बोटको आधा भाग सुक्ने र केही समयमै पूरै बोट नष्ट हुने अवस्था छ।

विशेषगरी खुर्सानी पाक्ने र बिक्रीका लागि योग्य हुने समयमा रोगको प्रकोप बढी देखिने गरेको श्रेष्ठले बताए। “वर्षभरि मेहनत गरेर उत्पादन गरेको खुर्सानी पाक्ने बेलामा रोगले नष्ट गर्न थालेपछि किसानलाई ठूलो क्षति भइरहेको छ,” उनले भने।

खुर्सानी रातो भएर बोटमै पाक्न दिँदा डढुवा रोगले बढी असर गर्ने र फल कुहिएर जाने भएकाले किसानले परिपक्व नहुँदै हरियो खुर्सानी टिपेर बजार पठाउन बाध्य भएका छन्। रोगका कारण खुर्सानीलाई रातो बनाएर बोटमै राख्न नसकिएको किसानहरूको गुनासो छ।

स्थानीय कृषक सम्झना प्रधानका अनुसार डढुवा रोग मुख्य समस्या बने पनि खुर्सानीमा अन्य समस्या पनि देखिएका छन्। किरा लाग्ने, पात कुप्रो पर्ने र जरा कुहिनेजस्ता समस्याले समेत उत्पादनमा असर पारिरहेको उनले बताइन्।

“खुर्सानीमा डढुवा रोगको प्रकोप बढेपछि हामी चिन्तामा छौँ,” प्रधानले भनिन्, “डढुवा रोगबाट सबैभन्दा बढी आर्थिक क्षति भएको छ। कतिपय बारीमा खुर्सानीको बोट नै सखाप भएको अवस्था छ।”

रोगको सङ्क्रमण एउटा बोटबाट अर्को बोटमा तीव्र रूपमा फैलिने भएकाले थप क्षति रोक्न किसानले सङ्क्रमित तथा बिग्रिएका बोट उखेल्दै नष्ट गर्न थालेका छन्। केही दिनमै पूरै बारीमा रोग फैलिन सक्ने भएकाले नियन्त्रण गर्न कठिन भइरहेको किसानहरू बताउँछन्।

पछिल्ला वर्षमा परम्परागत खाद्यान्न बालीको विकल्पका रूपमा भोजपुरमा अकबरे खुर्सानीको व्यावसायिक खेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ। नगदे बालीका रूपमा राम्रो आम्दानी हुने भएपछि साना तथा मझौला किसान यसतर्फ आकर्षित भएका हुन्। तर उत्पादनको मुख्य समयमा रोग र किराको प्रकोप देखिएपछि यस वर्ष उत्पादन घट्ने चिन्ता किसानमा देखिएको छ।

खुर्सानीमा समस्या देखिएका क्षेत्रमा स्थलमै तालिम सञ्चालन गर्नुका साथै विषादीको प्रयोग र अन्य रोकथामका उपायबारे किसानलाई जानकारी दिइरहेको कृषि ज्ञान केन्द्र भोजपुरका सूचना अधिकारी घनश्याम बरालले बताए। उनका अनुसार पछिल्लो समय जिल्लामा खुर्सानीमा देखिने डढुवा रोगको समस्या बढ्दै गएको छ।

बरालका अनुसार यस वर्ष भोजपुरमा करिब ५४५ हेक्टर क्षेत्रफलमा अकबरे खुर्सानीको व्यावसायिक खेती भइरहेको छ। गत आर्थिक वर्षमा जिल्लामा पाँच हजार २३२ मेट्रिक टन अकबरे खुर्सानी उत्पादन भएको थियो। त्यसबाट जिल्लामा करिब २३ करोड रुपैयाँ भित्रिएको कृषि ज्ञान केन्द्रले जनाएको छ।

भोजपुरका पौवादुङमा गाउँपालिका, भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, अरुण गाउँपालिका, हतुवागढी गाउँपालिका र षडानन्द नगरपालिकालगायतका क्षेत्रमा अकबरे खुर्सानी उत्पादन हुँदै आएको छ। यहाँ उत्पादित खुर्सानी स्थानीय बजारका साथै धरान, विराटनगर र काठमाडौंलगायतका सहरमा बिक्री तथा निकासी हुने गरेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं