झापा । लामो समयदेखि बेपत्ता रहेका एक व्यक्तिको खोजीका क्रममा झापामा मानव कंकाल फेला परेपछि प्रहरीले अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरमा दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय झापाले सार्वजनिक गरेको विवरणअनुसार ललितपुर जिल्लाको साविक महांकाल गाउँपालिका–१, हाल महांकाल गाउँपालिका–१ का ३९ वर्षीय दिलनाथ बजगाईं २०८१ कात्तिक २९ गतेदेखि सम्पर्कविहीन थिए। नेपाल प्रहरीको हराएका व्यक्तिको अभिलेखमा समेत बजगाईं मेचीनगर नगरपालिका–१, काँकडभिट्टाबाट हराएको उल्लेख छ।

बजगाईंकी श्रीमती तुलसा बुढा बजगाईंले श्रीमान् हराएको भन्दै खोजतलासका लागि प्रहरीमा निवेदन दिएपछि प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको थियो।
अनुसन्धानका क्रममा बजगाईंसँगै हिँडडुल गर्ने राम भनेर चिनिने गुप्तबहादुर सिंहको गतिविधिमाथि प्रहरीले अनुसन्धान केन्द्रित गरेको थियो। सोही क्रममा प्रहरीले मेचीनगर नगरपालिका–९ स्थित जयप्रसाद तिवारीको जग्गामा रहेको बाँसघारी क्षेत्रमा खोजी गरेको थियो।
खोजीका क्रममा जमिनमुनि मानव आकृतिजस्तो देखिने कंकाल फेला परेको जिल्ला प्रहरी कार्यालय झापाको प्रेस विज्ञप्तिमा उल्लेख छ। कंकाल फेला परेपछि प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको जनाएको छ।
प्रहरीले फेला पारेको कंकाल दिलनाथ बजगाईंको नै हो वा होइन भन्ने अझै पुष्टि भइसकेको छैन। कंकालको नमुना परीक्षणका लागि केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा पठाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
घटनाको अनुसन्धानका क्रममा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा म्याग्दी जिल्ला घर भई हाल मेचीनगर नगरपालिका–८ बस्ने ४९ वर्षीय राम भन्ने गुप्तबहादुर सिंह र भारतको अलिपुरद्वार जिल्ला, वीरपाडा घर भई हाल मेचीनगर नगरपालिका क्षेत्रमा बस्ने सञ्जय लामा रहेका छन्।
प्रहरीका अनुसार उनीहरूमाथि अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। घटनामा कंकाल फेला परेको स्थान, बेपत्ता व्यक्तिको अन्तिम गतिविधि, पक्राउ परेकाहरूको सम्भावित संलग्नता तथा कंकालको पहिचानलाई आधार बनाएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। कंकालको वैज्ञानिक परीक्षणबाट पहिचान खुलेपछि घटनाबारे थप तथ्य बाहिर आउने प्रहरीको भनाइ छ।