काठमाडौं । युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुसले नेपाल र भारतसहित ४७ देशका नागरिकलाई छल तथा प्रलोभनमार्फत भर्ती गरी युक्रेनविरुद्धको युद्धमा प्रयोग गरिरहेको आरोप लगाएका छन्।
बुधबार संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै जेलेन्स्कीले रुसले विभिन्न देशका नागरिकलाई भर्ती गरेर रणभूमिमा खटाइरहेको र उनीहरूमध्ये कतिपयको युद्धमा मृत्यु भइरहेको बताएका हुन्।

उनले अन्य देशका सरकारलाई आफ्ना नागरिकहरूलाई यस्तो प्रक्रियामार्फत युद्धमा तानिनबाट रोक्न आग्रहसमेत गरे। “हामीलाई थाहा छ, रुसले आफ्नो युद्धमा ४७ देशका नागरिकलाई प्रयोग गरिरहेको छ। नेपाल, भारत, घाना, ताजाकिस्तान, यमन, केन्या, जिम्बाब्वे, क्युबा, बेलारुस, सुडान, दक्षिण अफ्रिका र अन्य धेरै देशका मानिसहरू यसमा छन्,” जेलेन्स्कीले भने।
उनका अनुसार रणभूमिमा रुसी नागरिकबाहेक अन्य देशका नागरिकको पनि मृत्यु भइरहेको छ। उनीहरू छल र कपटपूर्ण प्रपञ्चमा परेर रुस पुगेको जेलेन्स्कीको दाबी छ।
जेलेन्स्कीले रुसलाई युद्ध जारी राख्ने क्षमता कमजोर बनाउन थप कडा उपाय अपनाउनुपर्ने आह्वानसमेत गरेका छन्। भारतीय विदेश मन्त्रालयका अनुसार २२७ जना भारतीय नागरिक रुसी सैन्य बलमा भर्ती भएका छन्। तीमध्ये १३९ जनालाई सेवामुक्त गरिसकिएको छ भने ५१ जनाको मृत्यु भएको छ।
भारतीय विदेश सचिव विक्रम मिस्रीले सेप्टेम्बरको पहिलो साता नयाँ दिल्लीले रुसमा रहेका आफ्ना नागरिकको रिहाइ तथा स्वदेश फिर्ताका लागि मस्कोसँग निरन्तर छलफल गरिरहेको बताएका थिए।