ओखलढुङ्गा । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका-०६ जन्तरखानीस्थितबाट दुई थान भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा जिल्ला ओखलढुङ्गा, सिद्धिचरण नगरपालिका-०६ जन्तरखानी बस्ने ४३ वर्षीय बुद्धबहादुर मगर रहेका छन् ।

अस्थायी प्रहरी पोष्ट ठाडे र जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट खटिएको प्रहरी टोलीले निजको घरमा खानतलासी गर्दा खाटमुनि लुकाइछिपाई राखेको अवस्थामा दुई थान भरुवा बन्दुक, बन्दुकमा प्रयोग हुने फलामका टुक्राहरू तथा बारुदजस्तो देखिने दुई वटा डब्बा फेला पारेको थियो।

प्रहरीले बरामद सामग्रीसहित मगरलाई नियन्त्रणमा लिएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।