काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण नेपालको राष्ट्रिय हितमा केन्द्रित हुनुपर्ने बताएको छ । बिहीबार राष्ट्रिय भेलापछि पारित समसामयिक प्रस्ताव सार्वजनिक गर्दै एमाले प्रचार–प्रसार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले प्रधानमन्त्रीको भारत भ्रमणमा नेपालको राष्ट्रिय सरोकार र हितका विषय स्पष्ट रूपमा उठाउनुपर्ने बताएका हुन् ।
एमालेले सीमा समस्या, असमान सन्धि, प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन, व्यापार घाटा, हवाई प्रवेश बिन्दु, विषम वाणिज्य प्रबन्ध तथा लामो समयदेखि रोकिएका परियोजनाको कार्यान्वयनलाई प्राथमिकताका साथ उठाउन सरकारलाई आग्रह गरेको छ ।

यी विषयलाई इतिहासको बोझ भन्दै पन्छाउनुको सट्टा समाधानका लागि स्पष्ट समयतालिकासहितको मार्गचित्र तय गर्नुपर्ने एमालेको भनाइ छ । प्रस्तावमा नेपाल–भारत सम्बन्ध सार्वभौम समानता, पारस्परिक लाभ र आपसी सम्मानका आधारमा अघि बढ्नुपर्ने उल्लेख छ । राष्ट्रिय भेलाले जेनजी आन्दोलनपछि विकसित घटनाक्रमले नेपालको राष्ट्रिय हितविरुद्धका गतिविधि बढाएको निष्कर्ष निकालेको छ ।

एमालेले छिमेकी मित्रराष्ट्रहरूको संवेदनशीलतामा आँच पुग्ने गतिविधि भइरहेको भन्दै प्रधानमन्त्रीले संसद्मा दिएको सीमा सम्बन्धी अभिव्यक्तिसमेत सच्याउनुपर्ने जनाएको छ । त्यस्तै, छिमेकी मुलुकसँग वर्षौंदेखि थाँती रहेका समस्यालाई कूटनीतिक पहलमार्फत समाधान गर्नुपर्नेमा सरकारले इतिहासको बोझ नबोक्ने भन्दै दिएको अभिव्यक्तिप्रति पनि एमालेले आपत्ति जनाएको छ ।
सरकारको निषेधकारी गतिविधि, साम्प्रदायिक विद्वेष, बढ्दो आर्थिक संकट, सुरक्षा निकायमाथिको हस्तक्षेप र भूराजनीतिक चलखेलले आन्तरिक सुरक्षामा जोखिम बढाएको एमालेको ठहर छ । यी गतिविधिले राष्ट्रिय सुरक्षा, प्राकृतिक स्रोतको संरक्षण र राष्ट्रिय स्वाभिमानमाथि चुनौती थपेको तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि कमजोर बनाएको एमालेले जनाएको छ ।