काठमाडौं । चीनको उत्तर-पश्चिमी प्रान्त गान्सुमा आईतवार आएको भीषण बाढीका कारण कम्तीमा १० जनाको मृत्यु भएको छ भने अन्य २३ जना घाइते भएका छन् ।
चीनको आपत्कालीन व्यवस्थापन मन्त्रालय (एमईएम)काअनुसार गान्सु प्रान्तको डिङसी सहरस्थित वेइयुआन काउन्टीमा अचानक परेको भारी वर्षापछि बाढी आएको हो । बाढीले उक्त क्षेत्रका पर्यटकीय स्थलहरूमा ठूलो क्षति पुर्याएको छ । स्थानीय अधिकारीहरूकाअनुसार बाढी आउँदा पर्यटकीय क्षेत्रमा क्याम्पिङ गरिरहेका केही पर्यटकहरू बाढीको चपेटामा परी फसेका थिए ।
घटनाको जानकारी लगत्तै राज्य बाढी नियन्त्रण तथा खडेरी राहत मुख्यालय र आपत्कालीन व्यवस्थापन मन्त्रालयले राहत तथा उद्धार कार्यका लागि एक विशेष टोली घटनास्थलतर्फ पठाएको छ ।
बाढीको जोखिम र क्षतिको अवस्थालाई मध्यनजर गर्दै मन्त्रालयले गान्सु प्रान्तका लागि चौथो तहको बाढी रोकथाम आपत्कालीन प्रतिक्रिया सक्रिय गरेको छ । चीनमा प्रकोपको गम्भीरताका आधारमा चार तहको आपत्कालीन प्रणाली अपनाइने गरिन्छ, जसमा पहिलो तहलाई सबैभन्दा गम्भीर मानिन्छ ।