विराटनगर । विराटनगर महानगरपालिका–१४ स्थित सुरेश यादवको घर तथा गोदाममा सशस्त्र प्रहरीले विशेष सूचनाका आधारमा छापा मारेर लत्ताकपडासहितका सामान बरामद गरेको छ। तर, खानतलासीका क्रममा केही बोरा तथा झोलाहरू खाली अवस्थामा समेत भेटिएपछि प्रहरीले प्राप्त गरेको ‘विशेष सूचना’ कति सटीक थियो भन्ने प्रश्न उठेको छ।
सशस्त्र प्रहरी बल मोरङका एसपी गेहेन्द्रबहादुर भण्डारीका अनुसार विशेष सूचनाका आधारमा यादवको घर तथा गोदाममा खानतलासी गरिएको थियो। खानतलासीका क्रममा सूचनामा उल्लेख भएअनुसारकै सामान फेला परेको उनले बताए।
‘सूचना भएअनुसार सामान फेला परेको हो। सामान भएको थियो र बरामद पनि भएको छ,’ एसपी भण्डारीले भने। उनका अनुसार खानतलासीका क्रममा केही झोलाहरू खाली अवस्थामा समेत भेटिएका थिए। बरामद गरेको सामानको प्रारम्भिक मूल्य भने करिब ३ लाख २८ हजार रुपैयाँ रहेको जनाएको छ।