Lite Nepal

आइतबार, आश्विन १८, २०८३
फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा प्रस्तुत गर्न तयार पारेको राजनीतिक प्रतिवेदनमा पार्टीको राजनीतिक, वैचारिक, सांगठनिक र आर्थिक रूपान्तरणका लागि विभिन्न महत्वपूर्ण प्रस्ताव अघि सारेका छन्।

प्रतिवेदनमा कांग्रेसको विगतको समीक्षा गर्दै पछिल्लो समय सत्ता, पद, गुट र पहुँचकेन्द्रित राजनीतिका कारण पार्टी जनताबाट टाढिँदै गएको स्वीकार गरिएको छ। अब नयाँ राजनीतिक संस्कार र कार्यशैलीसहित पार्टीलाई अघि बढाउनुपर्नेमा प्रतिवेदनले जोड दिएको छ।

भदौ २३ र २४ गतेको आन्दोलन तथा त्यसपछिको राजनीतिक घटनाक्रमलाई षड्यन्त्रका रूपमा मात्र नहेरी त्यसले उठाएका सुशासन, अवसर, न्याय र समानताका मागलाई सम्बोधन गर्नुपर्ने प्रस्ताव गरिएको छ। आन्दोलनका क्रममा राज्यबाट भएको बल प्रयोग, हिंसा र क्षतिको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही तथा पीडितलाई न्याय र क्षतिपूर्ति दिनुपर्ने उल्लेख छ।

त्यस्तै, फागुन २१ गतेको निर्वाचन परिणामलाई कांग्रेस र नागरिकबीच बढेको दुई दशक लामो दूरीको परिणामका रूपमा आत्मसमीक्षा गर्नुपर्ने प्रतिवेदनमा भनिएको छ।

प्रमुख प्रतिपक्षको प्रभावकारी भूमिका
निर्वाचनपछि कांग्रेसलाई प्रभावकारी प्रमुख प्रतिपक्षका रूपमा स्थापित गर्ने प्रस्ताव प्रतिवेदनमा छ। सरकारका कामको तथ्यमा आधारित निगरानी, भ्रष्टाचार तथा अधिकार हननविरुद्ध खबरदारी र वैकल्पिक नीति प्रस्तुत गर्न संघीय तथा प्रदेश तहमा ‘छाया सरकार’को अवधारणा अघि सारिएको छ।

आगामी निर्वाचनमा पूर्वनिर्वाचन गठबन्धन नगर्ने र कांग्रेस आफ्नै चुनाव चिह्न, उम्मेदवार तथा एजेन्डासहित जनतामाझ जाने प्रस्ताव गरिएको छ। उम्मेदवार छनोटमा गुट, पहुँच र आर्थिक प्रभावभन्दा योग्यता, योगदान र कार्यसम्पादनलाई आधार बनाउनुपर्नेमा जोड दिइएको छ।

यसका लागि प्राथमिक निर्वाचन, जनमत संग्रह वा पार्टी सदस्यको प्रत्यक्ष मतदानजस्ता विधि अपनाउने विकल्प पनि प्रस्ताव गरिएको छ।

लोकतन्त्र र राष्ट्रियताको नयाँ व्याख्या
वैचारिक रूपमा राष्ट्रियता, लोकतन्त्र र लोकतान्त्रिक समाजवादलाई २१औँ शताब्दीअनुकूल पुनर्व्याख्या गर्नुपर्ने प्रतिवेदनको प्रस्ताव छ। राष्ट्रियतालाई ऊर्जा, खाद्य, प्रविधि, वित्त र ज्ञानको क्षमतासँग जोड्दै लोकतन्त्रलाई निर्वाचनमा मतदान गर्ने प्रक्रियामा मात्र सीमित नराखी नागरिकको निरन्तर सहभागिता र निर्णय प्रक्रियासम्म विस्तार गर्नुपर्ने उल्लेख गरिएको छ।

निजी क्षेत्र र उत्पादनमुखी अर्थतन्त्रमा जोड
आर्थिक क्षेत्रमा निजी क्षेत्रलाई रोजगारी, उत्पादन, लगानी र नवप्रवर्तनको प्रमुख साझेदारका रूपमा स्थापित गर्ने प्रस्ताव छ। लगानी सुरक्षा, नीतिगत स्थिरता र व्यवसाय गर्ने वातावरण सुधार गर्दै रेमिट्यान्सलाई कृषि, उद्योग, पर्यटन र प्रविधिमा लगानी गर्ने वातावरण बनाउनुपर्ने उल्लेख छ। जलविद्युत् तथा स्वच्छ ऊर्जालाई औद्योगिकीकरण र हरित निर्यातसँग जोड्ने योजना पनि अघि सारिएको छ।

‘समुन्नत नेपाल, सम्मानित नेपाली’को अवधारणाअन्तर्गत आर्थिक वृद्धि मात्रै नभई शिक्षा, स्वास्थ्य, पोषण, सीप, क्षमता र अवसरमा समान पहुँच सुनिश्चित गर्नुपर्ने प्रस्ताव गरिएको छ। सुरुवातदेखि नै समान अवसर सिर्जना गर्ने ‘पूर्व(वितरणात्मक न्याय’को अवधारणालाई शिक्षा, स्वास्थ्य, सीप, वित्तीय पहुँच र रोजगारीसँग जोडिएको छ।

युवा, रोजगारी र आप्रवासन

युवाका लागि देशभित्रै सम्मानजनक रोजगारी सिर्जना गर्ने, वैदेशिक रोजगारीलाई सुरक्षित तथा अधिकारमुखी बनाउने र आप्रवासी नेपालीको सामाजिक सुरक्षा सुनिश्चित गर्ने प्रस्ताव प्रतिवेदनमा छ।

रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्नुपर्ने तथा जनसंख्या र बसाइँसराइको बदलिँदो स्वरूपअनुसार प्रशासनिक सीमाभन्दा नागरिक वास्तवमा कहाँ बस्छन् र कहाँ सेवा आवश्यक छ भन्ने आधारमा विकास योजना बनाउनुपर्ने उल्लेख गरिएको छ।

कृषि, ऊर्जा, पानी, पर्यटन, उद्योग र डिजिटल प्रविधिलाई उत्पादनमुखी अर्थतन्त्रका प्रमुख आधार बनाउने प्रस्ताव पनि प्रतिवेदनमा समेटिएको छ।

जलवायु परिवर्तन र प्रविधिलाई प्राथमिकता

जलवायु परिवर्तनलाई आर्थिक तथा राष्ट्रिय सुरक्षाको विषयका रूपमा लिनुपर्ने प्रतिवेदनको निष्कर्ष छ। पूर्वाधार, बस्ती तथा विकास योजनामा विपद् जोखिमलाई अनिवार्य रूपमा समेट्नुपर्नेमा जोड दिइएको छ।

त्यस्तै, प्रविधि र कृत्रिम बुद्धिमत्ताले रोजगारी, शिक्षा तथा ज्ञानको क्षेत्रमा ल्याउने परिवर्तनअनुसार शिक्षा र सीप प्रणाली पुनर्संरचना गर्नुपर्ने प्रस्ताव छ।

सामाजिक क्षेत्रमा जातीय विभेद, बालविवाह, लैंगिक हिंसा, कुपोषण, शिक्षा तथा स्वास्थ्यसँगै ज्येष्ठ नागरिक, बालबालिका, महिला तथा कमजोर वर्गको सामाजिक सुरक्षालाई प्राथमिकतामा राखिएको छ।

संघीयता र संक्रमणकालीन न्याय

संघीयताको प्रभावकारी कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय तहबीच समन्वय तथा प्रशासनिक र वित्तीय संघीयता बलियो बनाउनुपर्ने प्रस्ताव गरिएको छ।संविधान संशोधन आवश्यक भए राष्ट्रिय सहमतिका आधारमा गर्नुपर्ने र संक्रमणकालीन न्यायलाई राजनीतिक सौदाबाजीको विषय नबनाई सत्य, न्याय र परिपूरणसहित टुंग्याउनुपर्ने उल्लेख छ।

पार्टीभित्र पारदर्शिता र जवाफदेहिता
पार्टीभित्र आर्थिक पारदर्शिता, नियमित लेखापरीक्षण र आचारसंहिता कार्यान्वयनका साथै भ्रष्टाचारको आरोप लागेका नेतामाथि छानबिन गर्ने व्यवस्था गर्नुपर्ने प्रस्ताव छ।न्यायपालिका, संवैधानिक निकाय, विश्वविद्यालय तथा प्रशासनमा पार्टीगत भागबन्डा नगर्ने र आफ्ना नेता वा कार्यकर्ताको भ्रष्टाचारलाई समेत संरक्षण नगर्ने प्रतिबद्धता प्रतिवेदनमा राखिएको छ।

प्रधानमन्त्रीको कार्यकाल दुई कार्यकालमा सीमित गर्ने संवैधानिक व्यवस्था, निर्वाचनमा ‘नन अफ द अबभ’ ९ल्इत्ब्० को विकल्प, विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार तथा निर्वाचन प्रणालीलाई थप सहभागीमूलक र पारदर्शी बनाउने प्रस्ताव पनि अघि सारिएको छ।

जेनेरेसन–जेडका माग अध्ययन गर्न कार्यदल

युवाको असन्तुष्टि तथा जेनेरेसन–जेडका माग अध्ययन गर्न स्वतन्त्र युवा विज्ञ कार्यदल गठन गर्ने र त्यसका सुझावलाई नीति निर्माणमा अनिवार्य रूपमा समेट्ने प्रस्ताव गरिएको छ।सहिद, घाइते तथा विस्थापित परिवारका लागि १० करोड रुपैयाँको अक्षयकोष स्थापना गरी शिक्षा र स्वास्थ्यमा दीर्घकालीन सहयोग गर्ने योजना पनि प्रतिवेदनमा समेटिएको छ।

पाँच पुस्ताबीच सहकार्यको प्रस्ताव

थापाले पार्टी संगठनलाई पाँच पुस्ताबीचको सहकार्यमा अघि बढाउने प्रस्ताव गरेका छन्। नेतृत्व विकास तथा नीति निर्माणका लागि प्रशिक्षण, नीति, निर्वाचन र सुशासनसम्बन्धी संस्थागत संरचना निर्माण गर्नुपर्ने उल्लेख छ। पार्टीको पहिलो १०० दिनमा विगत दुई दशकको राजनीतिक तथा सांगठनिक कार्यसम्पादन समीक्षा गर्ने, पहिलो वर्षमै प्रदेशगत कार्यदलमार्फत शिक्षा, पोषण, रोजगारी, सुशासन र हरित विकासका कार्यक्रम अघि बढाउने तथा प्रत्येक वर्ष ‘समुन्नति प्रतिवेदन’ सार्वजनिक गर्ने प्रस्ताव पनि गरिएको छ।

समग्रमा, थापाको प्रतिवेदनले नेतृत्व परिवर्तनमा मात्र सीमित नभई राजनीतिक संस्कार, पार्टी संगठन, अर्थतन्त्र, रोजगारी, निजी क्षेत्र, युवा, प्रविधि, सामाजिक सुरक्षा, संघीयता र सुशासनमा व्यापक रूपान्तरणलाई कांग्रेसको आगामी कार्यदिशाका रूपमा अघि सारेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं