काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। शुक्रबार प्रधानमन्त्री ओलीले १२ जना नयाँ मन्त्री नियुक्त गर्दा पुराना १३ मन्त्रीलाई हटाएर मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन्।
नयाँ १२ मन्त्रीमा जनता समाजवादी पार्टी ९जसपा०को महन्थ ठाकुर पक्षका १० र एमालेका दुई मन्त्री बनेका छन्। १७ सदस्यीय मन्त्रिपरिषद् गठन हुँदा १३ जना पुराना मन्त्री पदमुक्त भएका छन्। यसरी पदमुक्त हुनेमा एक उपप्रधानमन्त्री, ९ मन्त्री र तीन राज्यमन्त्री छन्।
मन्त्रिपरिषद् पुनर्गठनसँगै ओली सरकारमा तीन उपप्रधानमन्त्री बनेका छन्। जसपाका वरिष्ठ उपाध्यक्ष राजेन्द्र महतोलाई उपप्रधानमन्त्रीसहित सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ भने अर्थमन्त्री विष्णु पौडेलसमेत उपप्रधानमन्त्री बनेका छन्। रघुवीर महासेठलाई ओलीले उपप्रधानमन्त्री बनाएका छन्।
ओली सरकारमा एमाले नेता शेरबहादुर तामाङले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाएका छन्। जसपाका वरिष्ठ नेता राजेन्द्र महतो, उपप्रधान मन्त्री तथा शहरी विकास, शरतसिहं भण्डारी, उर्जा, अनिल झा, खानेपानी, बिमल श्रीवास्तव, श्रम, उमाशंकर अरगरिया, युवा, लक्ष्मणलाल कर्ण, भूमिसुधार, चन्दा चौधरी, महिला, एकबाल मियाँ, वन, चन्द्रकान्त चौधरी, ऊर्जा राज्य मन्त्री र रेणुका गुरुङ, महिला राज्य मन्त्री बनेका छन्।
प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पनुर्गठन गर्दा अर्थमन्त्री पौडेल, भौतिक पूर्वाधार मन्त्री वसन्त नेम्वाङ, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ र कानुनमन्त्री लीलानाथ श्रेष्ठलाई निरन्तरता दिएर अरुलाई बिदा गरेका हुन्।
ओलीले गृह, रक्षा, सञ्चार, कृषि, उद्योग र सामान्य प्रशासन मन्त्रालय भने आफूसँग राखेका छन्।
उपप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, संस्कृति पर्यटन तथा नागरिकमन्त्री भानुभक्त ढकाल, कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्याल, स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी, सञ्चारमन्त्री पार्वत गुरुङ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री डा। शिवमाया तुम्बाहाम्फे, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेश गठुन्ना, वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले र महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोको पद गएको छ ।
सँगै स्वास्थ्य राज्यमन्त्री नवराज राउत, सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र उद्योग राज्यमन्त्री विमला विकलाई हटाइएको छ।