Lite Nepal

सोमबार, जेठ २४, २०७८

विराटनगर । नेपाल र भारतका सुरक्षा अधिकारीले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि आपसी सहकार्य एवं साझा प्रयास आवश्यक रहेको निस्कर्ष निकालेका छन् ।

दुई देशका अधिकारीबीच आइतबार सम्पन्न भएको सुरक्षा बैठकमा कोरोनाका कारण निम्तिएको मानवीय संकटका सवालमा गम्भीर छलफल भएको छ ।

छलफलबाट दुई देशको साझा प्रयासबिना कोरोनाविरुद्धको लडाँइमा सफलता प्राप्त गर्न नसकिने निस्कर्ष निस्किएको छ । भर्चुअल माध्यमबाट बैठकमा सहभागिता जनाएका दुवै देशका सुरक्षा अधिकारीले कोरोना नियन्त्रण अहिलेको मुख्य चुनौती रहेको उल्लेख गरेका छन् ।

बैठकमा नेपालका तर्फबाट मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला, मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्का, सशस्त्र प्रहरी प्रमुख एसपी तीर्थ पौडेल तथा सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश ढकाल, प्रहरी प्रमुख एसपी कमल थापा र सशस्त्र प्रहरी प्रमुख माधव पौडेल सहभागी भएका थिए ।

भारतका तर्फबाट मोरङ र सुनसरीसँग सीमा जोडिएको बिहार राज्यको अररिया जिल्लाका सुरक्षा अधिकारी बैठकमा सहभागी थिए । बैठकमा भारतको तर्फबाट अररिया जिल्लाका डीएम (जिल्ला प्रमुख) प्रशान्त सी.एच र एसपी हृदयकान्त उपस्थित रहेका हुन् ।

नेपाल–भारत संयुक्त बैठकमा कोरोना नियन्त्रणका सवालमा देखिएका समस्या र चुनौतीका विषयलाई लिएर गहन छलफल भएको बताइएको छ । सुरक्षा स्रोतका अनुसार बैठकमा कोरोना थप फैलन नदिन दुई देशीय सीमा नाकामा थप कडाइ गर्ने, सीमा क्षेत्रबाट भइरहेको आवतजावतलाई पूर्ण रुपमा नियन्त्रणमा लिएर शून्यमा झार्ने, कोरोना नियन्त्रणका लागि आपसी सहयोग र सहकार्यलाई कायम राख्दै साझा प्रयासमा जोड दिने, आवश्यकता अनुसार सूचना आदानप्रदान गर्ने, सीमा कडाइलाई यथावन राख्ने लगायतका विषयमा सहमति भएको छ ।

बैठकमा कोरोनाका कारण भइरहेको क्षतिका बारेमा दुवै देशका अधिकारीले चिन्ता व्यक्त गरेका छन् । दुई देशबीच आपसी सहयोग एवं सहकार्यबिना महामारीको रूप लिएको कोरोना नियन्त्रण मुस्किल पर्ने र नियन्त्रणका लागि गरिएका प्रयासहरु सफल नहुने तथा खुला सीमा कोरोना नियन्त्रणको मुख्य चुनौती रहेको निस्कर्ष अधिकारीहरुले निकालेका छन् ।

भारत पछिल्लो समय कोरोना भाइरस महामारीका कारण विश्वमा अति नै प्रभावित बनिरहेको मुलुक हो । त्यसको प्रभाव बिहार राज्यको अररिया जिल्लामा पनि परिरहेको छ । भारतमा पछिल्लो समय दैनिक एक लाख १५ हजारभन्दा बढी संक्रमित थपिने गरेका छन् । एक दिनमा दुई हजार पाँच सयभन्दा बढीको मृत्यु कोरोनाका कारण भइरहेको विभिन्न तथ्यांकले देखाएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा