Lite Nepal

बिहिबार, जेठ २७, २०७८

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार फेरि मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् ।

प्रतिनिधिसभा विघटनपछि असंवैधानिक रुपमा मन्त्रिपरिषद विस्तार गरेको भन्दै सर्बोच्च अदालतमा दायर रिटमा सरकारको जवाफ माग भएको बेला फेरि मन्त्रिपरिषद विस्तारको तयारी भएको हो ।

प्रधानमन्त्रीले बिहीबार विस्तार गर्न लागेको मन्त्रिमण्डलमा माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेका निवर्तमान गृहमन्त्री रामबहादुर थापाकी श्रीमति नैनकला थापाले स्थान पाउने भएकी छन् ।

यसअघि प्रधानमन्त्रीले थापालाई गृहमन्त्री नियुक्त गरेकोमा संसद नरहेको व्यक्ति एक पटकभन्दा बढि मन्त्री बन्न नपाउने भन्दै सर्बोच्च अदालतले उनलाई पदमुक्त गरेको थियो ।

मन्त्रीबाट पदमुक्त भएका थापाले प्रदेश ३ बाट राष्ट्रियसभा सदस्यमा पनि पराजित भएका थिए । उनी मन्त्री र सांसद दुबै पदबाट मुक्त भएपछि प्रधानमन्त्रीले उनकी श्रीमतिलाई मन्त्री बनाउन लागेका हुन् ।

यसैगरि नेकपा एमालेको माधबकुमार नेपाल समूह छाडेर ओली समूहमा प्रवेश गरेका गणेश पहाडी पनि मन्त्री बन्ने भएका छन् । उनलाई सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिने तयारी छ ।

वैशाख २७ गते संसदमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदा अनुपस्थित रहेका पहाडीले राष्ट्रपति कार्यालयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन बुझाइएको पत्रमा पपन हस्ताक्षर गरेका थिए । त्यसपछि उनी उनी ओली समूहमा प्रवेश गरेका हुन् ।

यसैगरि गृहमन्त्रीमा खगराज अधिकारी नियुक्त हुने भएका छन् । गृहमन्त्रीमा महेश बस्नेतको पनि दावी रहेकोमा गुण्डागर्दी र अपहरण जस्ता काण्डमा मुछिएको कारण उनलाई सुरक्षा निकायले सहज रुपमा नलिने बुझेपछि अधिकारीलाई गृहमन्त्री नियुक्त गरिएको स्रोतले जनाएको छ ।

यसअघि १० जना मन्त्री पाएको राजपाको महन्थ ठाकुर समूहका राजकिशोर यादव पनि मन्त्री बन्ने भएका छन् । ठाकुरले मन्त्री नबनाएपछि उपेन्द्र यादव समूहमा प्रवेश गर्ने तयारी गरेका यादवलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बनाइने भएको छ । यस्तै मोहन बानियाँ विना विभागीय मन्त्री बन्ने भएका छन् भने आशा विक बन राज्यमन्त्री बन्ने भएकी छन् ।

यसैगरि वन तथा वातावरण मन्त्री नारदमुनी राना र कृषि मन्त्रीको रूपमा ज्वाला कुमारी साहलाई शपथ खुवाउने तयारी छ ।

रानाले प्रतिनिधिसभा निर्वाचनमा काँग्रेस सभापति शेरबहादुर देउवाकी श्रीमति आरजु देउवालाई पराजित गरेका थिए । प्रदेश २ की प्रदेशसभा सदस्य रहेका साह भने माओवादी छाडेर एमालेमा प्रवेश गरेपछि प्रदेशसभा सदस्यबाट पदमुक्त भएकी छन् ।

नियुक्त भएका मन्त्रीहरुको सपथ ४ बजेको लागि तय गरिएको छ । यसअघि प्रधानमन्त्री ओलीले राजपाका ८ जनालाई मन्त्री र २ जनालाई राज्यमन्त्री नियुक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा