विराटनगर । नेपाली कांग्रेस प्रदेश १ प्रमुख सचेतक केदार कार्कीले प्रदेशमा ‘प्रधानमन्त्री बा सम्मान’ कार्यक्रम ल्याउन सरकारलाई व्यंग्यात्मक सुझाव दिएका छन् ।
शुक्रबार नीति तथा कार्यक्रमका विषयमा टिप्पणी गर्दै उनले राष्ट्रपति आमा सम्मान कार्यक्रम आएको तर, प्रधानमन्त्री बा सम्मान कार्यक्रम छुटेको बताए ।
२०७६–२०७७ को नीति तथा कार्यक्रमका कुनैपनि कुरा पुरा नभएको बेला २०७८ मा तिनै कुरा,दोहोरिएको र कतिपय थप नारा ल्याएको उनले बताए ।
‘नयाँ राष्ट्रपति आमा सम्मान कार्यक्रम आयो, प्रधानमन्त्री बा सम्मान गर्देको भए हुन्थ्यो नि’ उनले भने । आमाको मात्र संरक्षण गरेर नहुने भन्दै उनले बाको संरक्षणमा पनि ध्यान दिन सरकारलाई सुझाब दिए ।
नीतिमा कार्यक्रममा आश्वासनको पुलिन्दा मात्रै बाँडिएको भन्दै कार्कीले जनताको प्रतिनिधि संस्थालाई बदनाम गर्न कार्यान्यन नहुने कार्यक्रम राखिएको बताए ।
व्यवस्थालाई गाली गर्ने खालको नीति कार्यक्रम सरकारले ल्याएको उनको भनाइ छ । यो पटक पनि कपी पेस्टकै रुपमा नीति तथा कार्यक्रम आएकोभन्दै कार्कीले केही बुँदा थप्ने काम भएको र यसरी थप्ने मानिस पनि हाँसेर मुर्छा परेको होला भन्दै आलोचना गरे ।
सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई सांसदले ‘झुटको पुलिन्दा’ र ‘नाराहरुको ठेली’ भनेका छन् ।
नीति तथा कार्यक्रम सरकारको आयु टिकाउने दाउपेचको लागि मात्र आएको उनीहरुको भनाइ थियो ।