Lite Nepal

सोमबार, जेठ ३१, २०७८

विराटनगर । प्रदेश १ को नीति तथा कार्यक्रम माथिको छलफलमा शनिबार बोल्दै प्रदेशसभा सदस्य उपेन्द्रप्रसाद घिमिरेले सरकारले ल्याएको योजना र कार्यक्रमको स्वागत गरे। उनी एमालेका माधव नेपाल समूहका सांसद हुन्। उनले सदनमा भने, ‘हामी सत्तापक्षकै हौं, सरकारले ल्याएको नीति तथा कार्यक्रमका विषयमा मज्जाले बोल्छौं।’

अर्का सांसद लीलाबल्लभ अधिकारीले केन्द्रको राजनीति जे भए पनि प्रदेशमा यो पटक सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई सदनमा समर्थन गरेरै पास गरेको बताए। ‘कोरोना महामारीमा देश डुबेको छ, सरकारले बजेट ल्याउने समय हो, ल्यायो। रोकेर काम छैन। राजनीति त जहिले गरे पनि हुन्छ,’ उनले भने, ‘हामी अहिले पनि सत्तापक्षकै भएकाले समर्थन गरेर पास गरियो, अब बजेट आउँछ, त्यो पनि पास हुन्छ।’

केन्द्रीय राजनीतिको असर एमालेको तल्लो तहसम्म नै देखिएर दुईधारमा चिरा पर्दै गएको समयमा प्रदेश १ को सदनमा भएको यो क्रियाकलाप उदाहरणीय हो। सरकारले संसद बैठकको मिति तय गर्दै बजेट अधिवेशन बोलाएदेखि प्रदेश सरकारको हरेक निर्णयमा एमाले नेपाल पक्षको साथ छ।

दुई नेता केपी शर्मा ओली र माधवकुमार नेपाल केन्द्रीय राजनीतिमा मिल्न नसके पनि प्रदेश १ मा अहिलेसम्म सरकारको साथ एमालेको माधव नेपाल पक्षले छाडेको छैन। ‘जुनै दलको नेतृत्व भएको सरकारले ल्याउने बजेट कुनै पनि शतप्रतिशत राम्रो आउँदैन, यो पनि परिणाममुखी त भन्न मिल्दैन, तर सत्तापक्ष भएकाले समर्थन गरेका छौं,’ उनले भने, ‘अहिले सरकारले गरेका गतिविधिलाई साथ दिनुपर्छ।’

ओली समूहका नेतासमेत रहेका एमाले संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राज भण्डारीले सदनमा सरकारले ल्याएको नीति तथा कार्यक्रमको छलफलमा नेपाल समूह सहभागी नहोला कि भन्ने आशंकामा पत्र लेखेर सहभागी बन्नसमेत आग्रह गरेका थिए। तर, नेपाल समूहका नेताले सदनमा उभिएर सरकारलाई नआत्तिन र नडराउन आग्रह गर्दै आफूहरू सत्तापक्षकै भएकाले समर्थन रहने खुला रूपमै बताए।

ओली समूहका नेतासमेत रहेका प्रदेश १ का मुख्यमन्त्री शेरधन राई पनि पहिले जस्तो राजनीति भए पनि अब मिलेर जानुपर्ने बताउँछन्। ‘पार्टीभित्र बसेर समस्याको समाधान खोज्दा हुने कुरा हो,’ उनले भने, ‘प्रदेशमा त मैले जहिले मिलेर जाउँ भन्ने गरेको छु, मेरो बसमा भएसम्म पार्टीलाई एक बनाउनमा मेरो मिहेनत रहन्छ।’ प्रदेशको बजेट अधिवेशनको सुरुवातमा समेत एमालेको तर्फबाट बोल्दै मुख्यमन्त्री राईले जुनै पार्टीभित्र पनि समस्या हुने भएकाले छुट्टिएर कसैलाई फाइदा नहुने र यसले हरेक क्षेत्रमा असर पर्ने बताएका थिए।

प्रदेश १ सरकारको नेतृत्व एमालेले गरेको छ। ९२ सदस्यीय प्रदेशसभामा एमालेका ५१ सांसद रहेकाले प्रदेश सरकार बलियो छ। हालसम्म एमाले भित्रको नेपाल समूहले पनि राम्ररी साथ दिएकाले मुख्यमन्त्री शेरधन राई अन्य प्रदेशको तुलनामा बलियो भएर बसेका छन्। प्रदेशसभामा कांग्रेसका २१, माओवादी केन्द्रका १५, जसपाका ३, राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १र१ जना सदस्य छन्। एमालेका ५१ जनामध्ये खनाल–नेपाल समूहका १६ जना छन्।

यसअघि पुस १२ मा तत्कालीन नेकपाका दाहाल–नेपाल पक्षका ३७ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित प्रदेशसभामा मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको थियो। प्रदेशसभाको हिउँदे अधिवेशनको तेस्रो बैठकमा फागुन ९ गते प्रस्ताव प्रदेशसभामा पेससमेत भएको थियो। सर्वोच्च अदालतको फागुन २३ को फैसलाले माओवादी केन्द्र र एमाले ब्युँताएपछि अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका एमालेका खनाल–नेपाल पक्षका १६ जना पछि हटेका थिए। उनीहरूले सामूहिक रूपमा प्रस्तावबाट हस्ताक्षर फिर्ता लिएसँगै त्यस पछिका समयमा सरकारलाई साथ दिँदै आएका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा