Lite Nepal

सोमबार, आषाढ ०७, २०७८

काठमाडौँ । श्रम गन्तव्य मुलुकमा हवाई उडान सञ्चालन हुने भएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले केही दिनभित्रै टर्की, कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई), जापान, मलेसियामा हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको हो ।

सीसीएमसीका अनुसार अन्तर्राष्ट्रिय उडान बन्द हुँदा ती देशमा रोकिएका नेपाली श्रमिकलाई सातामा दुई हजारका दरले उद्धार गर्ने तयारी भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार साउदी अरब र मलेसियामा रहेका नेपालीलाई स्वदेश आउन समस्या भएको छ । अन्य देशबाट भने अत्यावश्यक उडान भइरहेको छ ।

वैदेशिक रोजगार बोर्डको सचिवालयका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले उद्धार गर्नुपर्ने समस्या मलेसिया र साउदी अरबमा भएकाले त्यहाँको अवस्थाबारे सीसीएमसीलगायत सबै सरोकारवालालाई जानकारी गराइसकिएको जानकारी दिनुभयो । “बोर्ड सहयोग गर्न तयार छ, हामीलाई आदेश चाहियो”, उहाँले थप्नुभयो ।

कोभिड–१९ को सङ्क्रमण बढेपछि सरकारले डेढ महिनाअघि सबै अन्तर्राष्ट्रिय उडान बन्द गरेको थियो । उडान बन्द हुँदा स्वदेश फर्कने तयारीमा रहेका श्रमिक रोजगारदाता कम्पनीमै बसिरहेको ती देशमा रहेका नेपाली दूतावासले जानकारी गराउँदै आएका छन् ।

सीसीएमसीका अनुसार रोजगारदाता देशमा रोकिएका श्रमिक बेखर्ची भए सरकारले क्वारेन्टाइन खर्च बेहोर्ने र अन्तर्राष्ट्रिय उडान बन्द हुँदा रोकिएका श्रमिकलाई छिट्टै स्वदेश फर्काउने तयारी गरेको छ ।

अहिले अघिल्लो वर्षजस्तो समस्या नभएकाले रोजगारदाता देशमा रोकिएका श्रमिकलाई स्वदेश फर्काउन कुनै अप्ठ्यारो नहुने सीसीएमसीले जनाएको छ ।

खाडी मुलुक र मलेसियामा रहेका नेपाली राजदूतले अन्तर्राष्ट्रिय उडान बन्द हुनासाथ श्रमिक फर्काउन वैकल्पिक उडान खुलाउन सरकारसँग आग्रह गर्दै आउनुभएको थियो ।

उहाँहरूले कोरोनाका कारण मात्रै नभई रोजगारीका क्रममा ज्यान गुमाएकाको शव, करार अवधि सकिएका, आममाफी पाएका र अन्य समस्यामा परी रोकिएका श्रमिक पर्काउन सरकारले सहज वातावरण बनाउनुपर्ने माग गर्दै आउनुभएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा