विराटनगर । प्रदेश सभामा भौतिक पुर्वाधार मन्त्रालयको बजेटमाथिको विषयगत छलफलमा सत्तापक्षीय सांसद र मन्त्रीका बिचमा आरोप प्रत्यारोप चलेको छ । ओखलढुङ्गा निर्वाचन क्षेत्र (क)का निर्वाचित सांसद तथा सरकारका भौतिक पुर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङ र (ख) का निर्वाचित सांसदबीच प्रदेश सभाभित्रै आरोप प्रत्यारोप भएको हो ।
एउटै जिल्लाको फरक निर्वाचन क्षेत्रबाट निर्वाचित सांसदहरू यसअघि एकले अर्काको निर्वाचन क्षेत्रमा नजानेसम्मको तथ्य सदनबाट बाहिरिएको छ । माओवादीबाट निर्वाचित सांसद मोहनकुमार खड्काले बजेटमाथिको छलफलको क्रममा भौतिक पुर्वाधार मन्त्रालयतर्फका कार्यक्रम र त्यसमा विनियोजित रकमबारे गम्भीर प्रश्न उठाएका थिए ।
नीति तथा कार्यक्रमले दिएको प्राथमिकतामा बजेट नआएको बताएका थिए । उनले भौतिक पुर्वाधार मन्त्रालयको बजेट तथा विनियोजन हेर्दा गुटकेन्द्रित र दलाल केन्द्रित भएको आरोप लगाएका थिए ।
भौतिकलाई १२ अर्ब हुँदा वित्तीय व्यवस्थासँग मेल नखाएको बताउँदै उनले अख्तियारी दिएको भन्दा ३७ करोड बढी बढेट राखिएकोमा प्रश्न उठाएका थिए । अख्तियारी प्राप्तभन्दा बढी बजेट राखिनु शंकास्पद भएको भन्दै आलोचना गरेका थिए ।
‘प्रतिपक्षी र गुटबाहिरका सांसदका निर्वाचन क्षेत्रका योजना अन्धाधुन्ध काटिएको छ,’ उनले भने, ‘मेरो निर्वाचन क्षेत्रको बजेट काटेर मन्त्रीकेन्द्रित क्षेत्रमा मात्र बजेट गएको छ ।’
आफ्नो निर्वाचन क्षेत्रका ४२ योजना भौतिक पुर्वाधारमन्त्रीले काटिदिएको खड्काको आरोप थियो ।
आक्रोशित मुद्रामा प्रस्तुत भएका भौतिक पुर्वाधार विकासमन्त्री अम्बीरबाबु गुरुङले सम्मानित सदनभित्र चरित्र हत्या गर्ने अभिव्यक्ति दिएको बताए ।
‘आफ्नो निर्वाचित क्षेत्रमा कुनैपनि काम नगर्ने, परियोजना, डिपिआरलगायतको कुनै काममा चासो नदिने अहिले सदनमा आएर एउटा व्यक्तिको चरित्र हत्या गर्ने,’ उनले भने, ‘तपाईं पनि अर्थ व्यवस्थापन समितिको सभापति हो, यो बेलादेखि नै बहुवर्षीय योजनासहितका कुनै पनि कुरा जनताको पक्षमा किन नउठाएको ?’ मन्त्री गुरुङले सांसद खड्कालाई ‘तपाईं अझै सुध्रिएर आउनुस्’ भनेका थिए ।
‘९३ जना सांसदलाई बेवकुफ बनाउने काम गर्ने ? माननीयज्यू होसियार साथ बोल्नुस्, तपाईंसँग कति रीस-राग‚ डाह छ भन्ने मसँग रेकर्ड छ,’ मन्त्रीको जवाफ थियो, ‘तपाईंसँग अलिकति पनि भिजन छैन मैले बुझेको छु, एउटा कुञ्चित सोचबाट एउटा मानिसको चरित्र हत्या गर्ने काम नगर्नुस् ।’
उनले एक पटक रातो किताब पढेर सदनमा छलफल गर्न आउनका लागि आग्रह गरे । उनले खड्कालाई समस्या के हो स्पष्ट भन्न आग्रह गरे ।
‘तपाईंको समस्या नै मेरो समस्या हो, त्यो समस्या हल गर्ने दायित्व मेरो पनि हो,’ मन्त्री गुरुङले भने, ‘त्यो बेलामा हामीले गरेको एउटा सहमतिअनुसार तपाईंको निर्वाचन क्षेत्रमा म नजाने र मेरो निर्वाचन क्षेत्रमा तपाईं नजाने भन्ने सहमति भएको थियो, त्योअनुसार म पनि गइनँ ।
अहिले म प्रदेशको मन्त्री हो‚ मेरो जिम्मेवारीभित्र प्रदेशका १४ जिल्ला नै पर्छ । अहिले तपाईंको क्षेत्रमा जाँदा बिजोग अवस्था छ ।’