Lite Nepal

शुक्रबार, आश्विन ३०, २०७७

काठमाडौं । काठमाडौंका रामकृष्ण तिवारीलाई केही दिनअघि उनकी पत्नीले पारिजातको पात पकाएर झोल दिइन् । ती महिलाले पारिजातको झोल पिउँदा कोरोना भाइरस लाग्नबाट जोगाउँछ भन्ने सुनेकी रहिछन् । तिवारीले खुसीसाथ दुई गिलास पिए । तर, त्यसपछि उनको शरीरमा एक्कासि रक्तचाप घट्यो ।

‘शरीरमा ब्लड प्रेसर कम भएर दुई दिनसम्म काम गर्न सकिनँ’, उनी भन्छन्, ‘एउटा समस्या समाधान होला भनेर खाएको, अर्को समस्या पो आइलाग्यो । दुई दिन प्रेसर बढाउनमै खर्च भयो ।’

यो त प्रतिनिधि घटना मात्रै हो । धेरै नेपालीले कोरोना संक्रमणबाट जोगिन भन्दै सुनेकै आधारमा घरेलु औषधि प्रयोग गरिरहेका छन् । कोरोनाकै औषधि भन्दै आयुर्वेद सेवा केन्द्रहरूबाट औषधि लिइरहेका छन् । जब कि विश्वमै कोरोनाको औषधि पत्ता लागेको छैन । हल्लाका भरमा जथाभावी औषधि सेवनले मानिसका विभिन्न अंगमा असर गर्न थालेको विज्ञ बताउँछन् ।

कोरोना संक्रमण भएर उपचार गर्न आएका बिरामीमा घरेलु औषधि धेरै प्रयोगले समस्या देखिएको ओम अस्पतालका डा. पर्शु घिमिरे सुनाउँछन् । उनका अनुसार गुर्जो, जेठीमधुलगायत जडीबुटी सेवन गरेका संक्रमितमा कलेजोको समस्या देखिएको छ ।

‘कोरोना लाग्न नदिन वा लागेपछि निको हुन भनेर जथाभावी औषधि खाएकाले उहाँहरूको शरीरमा समस्या देखिएको छ’, डा. घिमिरे भन्छन्, ‘धेरै बिरामीमा कलेजोको समस्या देखिएको छ । पुरानो समस्या होइन, तुरुन्तै भएको देखिन्छ । यस्तो अवस्थामा कोभिड कि कलेजोको समस्या समाधानमा लाग्ने ? गाह्रो हुने गरेको छ ।’ कलेजोबाहेक मिर्गौलालगायत अंगमा पनि समस्या देखिएको उनको भनाइ छ ।

कोरोना केही होइन, साधारण जडीबुटीले ठीक हुन्छ भनेर वैज्ञानिक प्रयोग नभएका औषधि जथाभावी सेवन नगर्न उनको सुझाव छ । ‘औषधि विज्ञानका अनुसार कुुनै पनि औषधि प्रमाणीकरण भएर मात्रै प्रयोग गर्नुपर्छ’, उनी भन्छन्, ‘धेरैचाहिँ हल्लाका भरमा औषधि सेवन भएको पाइएको छ । यसरी औषधि जथाभावी नखाऔं ।’ यस्तो किसिमको औषधि जथाभावी प्रयोग गर्न सरकारले रोक्नेभन्दा पनि उत्साहित गरेको उनको ठम्याइ छ ।

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका डा. शेरबहादुर पुन पनि विज्ञसँग सल्लाह नगरी जथाभावी औषधि सेवनले समस्या आउने बताउँछन् । ‘औषधिको बेफाइदै छ भन्न नसकिएला’, डा. पुन भन्छन्, ‘तर, सम्बन्धित विज्ञसँग सल्लाह नगरी खानु हुँदैन । औषधिको फाइदा के हो ? बेफाइदा के हो ?थाहा पाउनुपर्ने हुन्छ । आफैं जथाभावी प्रयोग गर्दा अवश्य शरीरमा हानि पु¥याउँछ ।’

कुनै पनि औषधि मात्राभन्दा बढी खाए त्यसको नकारात्मक असर पर्ने उनको भनाइ छ । त्यसकारण हचुवाका भरमा कोरोनाको औषधि भनी सेवन नगर्न उनी आग्रह गर्छन् । ‘भिटामिन त धेरै खायो भने समस्या हुन्छ’, उनी भन्छन्, ‘घरेलु औषधि पनि मात्रा जानेर खानुपर्छ । आधिकारिक व्यक्तिसँग सोधेर खानुपर्छ । नत्र संक्रमितमा यसै समस्या भएको हुन्छ, अर्को समस्या निम्तिन सक्छ ।’

चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)का पूर्वडिन डा. जगदीश अग्रवाल जथाभावी औषधि सेवन गर्न नहुने बताउँछन् । भन्छन्, ‘घरेलु जडीबुटी औषधिले राम्रो काम गर्न सक्छ । तर, कुनै पनि चिकित्सकको सल्लाहबेगर खानु हुन्न ।’

आयुर्वेदका औषधि थोरै मात्रामा खाँदा खासै असर नपर्ने भए पनि धेरै भए असर हुने उनी बताउँछन् । ‘अहिले गुर्जो खाँदा हुन्छ भन्ने धेरैको सल्लाह छ’, उनी भन्छन्, ‘तर, संक्रमितले छिटो निको हुन्छु भनेर बिहान, दिउँसो जति बेलै खायो भने समस्या हुन सक्छ । उसको कलेजो वा अन्य अंगमा हानि पु¥याउन सक्छ ।’ त्यसैले आयुर्वेदिक औषधि आधिकारिक चिकित्सकको सल्लाहबेगर प्रयोग नगर्दा राम्रो हुने उनी बताउँछन् ।

आयुर्वेद अनुसन्धान केन्द्र कीर्तिपुरका प्रा.डा. रामआधार यादव आयुर्वेदिक औषधिको ‘साइड इफेक्ट’ नभएको दाबी गर्छन् । ‘हामीले गुर्जो त पहिलेदेखि प्रयोग गरेको औषधि हो’, डा. यादव भन्छन्, ‘यसले हाम्रो रोगसँग लड्ने क्षमता बढाउँछ ।’

अनुसन्धान केन्द्रले बनाएको आयुर्वेदिक औषधि कोरोनाका बिरामीलाई दिइरहेको उनी सुनाउँछन् । ‘हामीले रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि बनाएर खुवाएका छौं’, उनी भन्छन्, ‘रुघाखोकी र अन्य भाइरसलाई पनि यसले काम गर्छ ।’ तर आफूले कोरोनाको औषधि नै यही हो भनेर दाबी नगरेको उनको भनाइ छ । उनी आफंैले प्रयोग गर्दा भने सही मात्रामा खानुपर्ने सुझाव दिन्छन् ।

‘हामीले पढेको ज्ञानका आधारमा बिरामीको उपचार गरेका हौं’, उनी भन्छन्, ‘कोरोनाको यही नै औषधि हो भनेर पूरै दाबी गरेका छैनौं । तर, मुख्य त रोगप्रतिरोधात्मक क्षमता बढाउने भएकाले कोरानाका बिरामीलाई दिइरहेका हौं ।’ उनका अनुसार अनुसन्धान केन्द्रमा २ सय बिरामी उपचाररत छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा