Lite Nepal

शनिबार, फाल्गुण ०१, २०७७

विराटनगर । प्रदेश १ मा १० लाख ९६ हजार ५ सय ३९ जनाले स्वास्थ्य बिमा गराएका छन् । प्रदेशका १४ जिल्लामध्ये ताप्लेजुङबाहेक अन्यत्र यो कार्यक्रम लागू भइसकेको छ ।

२०७७ को चैतसम्म ताप्लेजुङमा पनि कार्यक्रम लागू हुने प्रदेशको स्वास्थ्य बिमा बोर्ड कार्यालयले जनाएको छ । स्वास्थ्य बिमा परिचयपत्र नवीकरण गर्नेको संख्यासमेत उत्साहजनक रहेको कार्यालयका सूचना अधिकारी महेश पोखरेलले बताए ।

‘यस प्रदेशमा ९० प्रतिशत हाराहारीमा नवीकरण भइरहेको छ,’ उनले भने । बोर्डको अध्ययनमा बिमित सेवाग्राहीमध्ये करिब १० प्रतिशतले सोचेअनुरूप सेवा पाउन नसकेको गुनासो गरेको पोखरेलको भनाइ छ । ‘यो संख्या पनि धेरै हो, बोर्डले त्यसलाई सक्दो छिटो व्यवस्थापन गर्छ,’ उनले भने ।

चिकित्सकले लेखेका सबै औषधि सेवा प्रदायक स्वास्थ्य संस्थामा नपाइएको, बिरामीको चाप व्यवस्थापन गर्नेतर्फ ध्यान नदिँदा उपचारमा धेरै समय लागेको, पुर्जी कटाउन झन्झट भएको, हरेक दिन पुर्जी दर्ता गर्नुपर्ने, बिमाको प्याकेजमा सम्पूर्ण औषधि नपरेकाले अन्य औषधि तथा प्याकेजको पैसा तिर्नुपरेको, स्वास्थ्य संस्थाले थप रकम माग गरेकालगायत गुनासा आउने गरेका छन् । बोर्डले प्रदेशका हरेक जिल्लामा आधारभूत एवं जटिल स्वास्थ्योपचार दिन सक्षम सरकारी एवं निजी स्वास्थ्य संस्थालाई सेवा प्रदायकका रूपमा यो कार्यक्रममा समेटेको छ ।

‘प्रदेश कार्यालयका साथै बोर्डका तर्फबाट बिमितहरूको मौखिक तथा लिखित गुनासाको प्रकृति हेरी यथार्थ रूपमा बुझ्ने, सक्दो स्थलगत अनुगमन, निरीक्षण तथा टेलिफोनबाट समेत समस्या समाधान गर्दै आएका छौं,’ उनले भने । झापामा देशकै सबैभन्दा बढी ४ लाख १३ हजार १ सय ८२ जना बिमित सदस्य छन् । दोस्रोमा सुनसरीबाट २ लाख ७३ हजार २ सय ६७ र तेस्रोमा मोरङबाट १ लाख ९३ हजार ७ सय ३ जनाले स्वास्थ्य बिमा गराएका छन् । प्रदेश १ मा सबैभन्दा पहिले २०७३ असार १५ मा इलाममा यो कार्यक्रम लागू भएको हो ।

इलाममा ९७ हजार १ सय ५६ बिमित सदस्य छन् । सोलखुम्बुमा बिमित सदस्य कम रहेको र अन्य पहाडी जिल्लामा बिमितको संख्या सन्तोषजनक रहेको कार्यालयले जनाएको छ । सोलुखुम्बुमा ६ हजार ७ सय ३७ जनाले स्वास्थ्य बिमा गराएका छन् ।

उदयपुर र पाँचथरमा स्वास्थ्य बिमा दर्ता फाराम संकलनका क्रममा रहेको पोखरेलले बताए । सबैजसो जिल्लामा बिमित सदस्यमध्ये महिला बढी छन् । प्रदेशमा पुरुषभन्दा महिलाको संख्या बढी हुनु, भएका पुरुष पनि रोजगारी एवं जागिरका क्रममा घरबाहिर रहनुजस्ता कारणले बिमितमा महिलाको संख्या बढी देखिएको उनको विश्लेषण छ । स्वास्थ्य बिमासम्बन्धी ऐन, २०७४ अनुसार पाँच जनासम्मको परिवारका लागि वार्षिक ३ हजार ५ सय रुपैयाँ तिरेपछि स्वास्थ्य बिमा परिचयपत्र दिइन्छ ।

पाँचभन्दा बढी सदस्य भएमा प्रत्येक व्यक्तिका लागि थप ७ सय रुपैयाँ तिनुपर्छ । अति विपन्न, अशक्त, अपांग, कुष्ठरोगी, एचआईभी संक्रमित, जटिल खालका क्षयरोग लागेका बिरामी र ७० वर्ष नाघेका ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य बिमा हुने प्रावधान छ । कार्यक्रमअन्तर्गत प्रतिपरिवार १ लाख रुपैयाँ बराबरको उपचार सुविधाको प्रत्याभूति गरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा