Lite Nepal

आइतबार, फाल्गुण ०२, २०७७

विराटनगर । डेढ दशकअघिसम्म प्रदेश १ का १४ जिल्लामा ३ लाख ६६ हजार हेक्टरमा धान खेती हुन्थ्यो । त्यस बेला साढे १६ लाख टनसम्म धान उत्पादन भएको तथ्यांक छ । अहिले ३ लाख १२ हजार हेक्टरमा धान खेती सीमित हुँदा उत्पादन घटेर १२ लाख टनमा झरेको छ ।

प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार डेढ दशकको अवधिमा प्रदेश १ मा ५४ हजार हेक्टर धान खेत घटेको छ । खेतीयोग्य जमिन घटेसँगै उब्जनी पनि घट दा खाद्यान्नमा परनिर्भरता बढ्दो छ ।

अन्नको भण्डार मानिने तराईका जिल्लामा खेतीयोग्य जमिनलाई घडेरीमा परिणत गरिँदा र पहाडी जिल्लामा जमिन बाँझो राख्ने प्रवृत्ति बढेसँगै प्रदेश १ मा यस अवधिमा करिब ५४ हजार हेक्टर खेतीयोग्य जमिन घटेको मन्त्रालयका प्रवक्ता राजेन्द्र उप्रेतीको भनाइ छ ।

तराईका धान खेतीको पकेट क्षेत्र मानिएका मोरङ, सुनसरी र झापामा बढी घटेको हो । उप्रेतीका अनुसार २०६२÷६३ अघि मोरङमा ९८ हजार हेक्टरमा धान खेती हुन्थ्यो । अहिले घटेर ८२ हेक्टरमा सीमित भएको छ ।

त्यसैगरी सुनसरीमा ६१ हजारबाट ४५ हजार हेक्टरमा झरेको छ । झापामा ९२ हजार हेक्टरमा धान खेती हुँदै आएकामा अहिले ८३ हजार हेक्टरमा सीमित भएको उनले बताए । ‘पहाडी क्षेत्रमा मजदुर अभाव र कृषि उपकरण नपुग्दा सबै जिल्लामा खेतबारी बाँझो राख्ने प्रवृत्ति बढेको छ । तराईका जिल्लामा हरेक वर्ष खेतीयोग्य जमिन प्लटिङ गर्ने चलन बढ्दो छ ।’ प्रवक्ता उप्रेतीले भने ‘यही अवस्था कायमै रहे प्रदेश १ कृषि उपजमा बाह्य निर्भरता अझै बढ्ने खतरा छ ।’

प्रदेश १ को कुल गार्हस्थ्य उत्पादनमा समग्र कृषि क्षेत्रको योगदान ३६ र धानको योगदान १९ प्रतिशत छ । हरेक वर्ष धान खेत घटेसँगै प्रदेश १ मा भारतबाट धान, चामल, गहुँ र मकै आयात हुने क्रम बढ्दो छ ।

चालु आर्थिक वर्षको ६ महिनामा प्रदेशका जोगबनी र काँकडभिट्टा नाकाबाट १ अर्ब ५४ करोड रुपैयाँ बराबरको ९२ हजार किलो चामल आयात भएको भन्सारको तथ्यांक छ। चामल आयात गत वर्षको तुलनामा दोब्बर पुगेको छ ।

गत आर्थिक वर्षको ६ महिनामा जोगबनी नाकाबाट ७३ करोड ३० लाखको १६ हजार ८ सय टन चामल आयात भएकामा यस वर्ष १ अर्ब ३२ करोड ४४ लाखको ३० हजार ८ सय टन चामल आयात भएको छ । चालु आर्थिक वर्षको ६ महिनामा काँकडभिट्टा नाकाबाट २२ करोड मल्यको चामल आयात भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा १५ करोडको चामल आएको थियो ।

नेपालको तुलनामा भारतमा सस्तोमा चामल पाइन्छ । आयात गर्दा कृषि सेवा शुल्क पनि कम लाग्छ । त्यसैले यताका उद्योगले भारतबाट चामल आयात गरेर आफ्नो उद्योगका नाममा प्याकिङ गरेर बेच्ने गरेका छन् ।

चाल आर्थिक वर्षको ६ महिनामा जोगबनी नाकाबाट १ अर्ब १० करोड २७ लाख मूल्यको ४० हजार टनभन्दा बढी धान आयात भएको छ । गत वर्ष सोही अवधिमा १ अर्ब ३३ करोडको आएको थियो । यो नाकाबाट गहुँ र मकै आयात पनि गत वर्षको तुलनामा यस वर्ष चार गुणा बढेको छ ।

गत वर्षको ६ महिनामा जोगबनी नाकाबाट ३ करोड १७ लाख मूल्य बराबरको ९ हजार ५ सय ४५ टन गहुँ आयात भएकामा यस वर्ष सोही अवधिमा १ अर्ब १९ करोड ६२ लाख मूल्यको ३९ हजार ८ सय ५५ टन गहुँ आयात भएको विराटनगर भन्सारको तथ्यांक छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा