लाईसेन्स नभएपछि घटना बङ्ग्याउने प्रयासमा प्रहरी
विराटनगर । बिहीबार साँझ ७ : ३५ बजे विराटनगर महानगरपालिका ४ स्थित विराटनगर विमानस्थलको नहरनजिक पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र ३–०१–००२ च २१३९ नम्बरको कारले दुई जना पैदल यात्रीलाई एकै पटक ठक्कर दियो । दुर्घटनामा परेर एक जनाको मृत्यू भयो भने अर्का एक जना गम्भीर घाइतेको नोबेल अस्पतालमा उपचार भइरहेको छ ।
भारतीय नागरिक ३५ वर्षीय मुकेश शर्माको मृत्यू भएको र मोरङको कटहरी गाउँपालिका–२ का २७ वर्षीय रामकुमार राजवंशी घाइते भएको प्रहरीले जनाएको छ । उनको नोबेल शिक्षण अस्पताल विराटनगरमा उपचार भइरहेको छ । दुर्घटनामा परेर मृत्यु र घाइते हुने दुबै पुरुष विराटनगर–४ स्थित न्यू एभरेष्ट फर्निचर उद्योगमा कार्यरत मजदुर हुन् ।
यतिको तथ्याङ्कसहित मृतक र घाईतेको विवरण खुलाएको प्रहरी विराटनगरका मध्य चोकमा भएको दुर्घटनाको अहिले सम्म चालकका बिषयमा चुप चाप बसेको छ । चालक प्रदेश सांसद विन्दिया कार्कीका छोरा रबिन कार्की भएकाले प्रहरी दबाबमा परेको प्रहरी स्रोत बताउँछ ।
प्रत्यक्षदर्शिले एयरपोर्ट क्षेत्रको होटलमा दुई महिला सँग रक्सि खाएर सँगै कारमा राखेर निस्किएका रबिनले नै कार चलाएकाले अनियन्त्रित भएर पैदल यात्रिलाई ठक्कर दिएको बताएका छन् । तर, प्रहरी भने चालक थाहा नभएको भनेर चुपचाप बसेको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट दुर्घटना गराउने कार प्रदेशसभा सदस्य विन्दिया कार्कीले प्रयोग गर्दै आएको खुलेको छ । प्रहरी यो भन्दा बढी आधिकारिक रुपमा जानकारी दिन मान्दैन । कार्कीका छोरा रविनलाई चलाउनका लागि दिएका बेला कार दुर्घटनामा परेको पाइएको प्रहरीमो भित्री स्रोतले बतायो ।
दुर्घटना लगत्तै कार चालक रविन फरार बनेका छन् । प्रहरीले भने चालकको पहिचान हुन नसकेको र फरार रहेका कारण खोजी तीव्र पारिएको जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले सांसद विन्दियाका छोरा रविनले चलाएका बेला कार दुर्घटनामा परेको सूचना आएको भए पनि यकिन हुन बाँकी रहेको बताए । ‘दुर्घटनाको खबर पाएपछि घटनास्थलमा पुगेको प्रहरी सुरुमा घाइतेको उद्धार र उपचारमा केन्द्रित हुनुपर्ने अवस्था आयो,’ उनले भने, ‘त्यसपछि दुर्घटना गराउनेको खोजी थालिए पनि अहिलेसम्म फेला पार्न सकिएको छैन। पहिचान पनि खुलेको छैन ।’
स्थानीय प्रत्यक्षदर्शीका अनुसार कारमा अरु दुई युवती पनि सवार थिए । दुर्घटना लगत्तै तीनै जना कारबाट निस्किएर फरार भएको प्रत्यक्षदर्शीको भनाइ छ । ‘दुर्घटना भएपछि हामी भेला भएर घाइतेको उद्धारमा व्यस्त भयौँ,’ एक स्थानीयले भने, ‘त्यतिबेलै कार चालक युवा र दुई युवती कार घटनास्थलमै छाडेर फरार भएछन् ।’ कारमा रहेका तीनै जनाले मादक पदार्थ सेवन (मापसे) गरेजस्तो देखिने उनको भनाई छ । ‘उनिहरु राम्ररी उभिने अवस्थामा पनि थिएनन्,’ ति प्रत्यक्षदर्शिले नाम नखुलाउन आग्रह गर्दै भने ‘कार रबिनलेनै चलाएका थिए ।’ दुर्घटनामा परेर कार क्षतिग्रस्त बनेको छ ।
रबिनको लाईसेन्स नभएपछि अर्को चालक खडा गर्ने दाउ
सवारी दुर्घटना प्रकरणमा कार चालक रबिन कार्कीसँग सवारी चालक अनुमति पत्र (लाइसेन्स) नै नभएको पाइएको छ । प्रत्यक्षदर्शीले दाबिका साथ कार रबिन कार्कीले चलाएको बताउँदै आएका छन् । उनका साथमा दुई युवति सँगै थिए । कारमा बियरका बोतलसमेत रहेको प्रत्यक्षदर्शी बताउँछन् ।
दुर्घटनामा चालकको पहिचान भइसक्दा पनि लाइसेन्स नभएको र पहुँचमा भएका कारण कार्कीलाई पक्राउ गर्न प्रहरीले आनाकानी गरेको छ । ‘रबिनसँग लाइसेन्स पनि छैन, यसअघि पनि थुप्रै यसखालका घटनामा संलग्न हुँदा पनि छुट्दै आएको कारण प्रहरी आफैं घटना गुपचुप गराएर नक्कली सवारी चालक खडा गर्न खोजिरहेको छ,’ स्रोतले भन्यो, ‘प्रहरीले अहिलेसम्म सवारी चालक रबिनका विरुद्धमा जाहेरी लिन समेत प्रहरीले मानेको छैन ।’
कारमा सवार रहेकी भनिएकी मकालु टेलिभिजनकी एक महिला कर्मचारीलाई भने बयानका लागि बोलाइएको प्रहरीस्रोतको भनाइ छ । अहिलेसम्म बयान लियो कि लिएन भन्ने विषय भने स्पष्ट भइसकेको छैन ।
चालक रोबिन कार्कीसहित कारमा को–को सवार थिए भन्ने कुरा समेत प्रहरीले अहिलेसम्म बताउन चाहेको छैन । दुर्घटनास्थलमा रहेका प्रत्यक्षदर्शीहरुका अनुसार चालक रबिनले मदिरा सेवन गरेको जस्तो देखिन्थ्यो । प्रहरीले मेडिकल परीक्षण गर्दा प्रमाणित नहोस् भन्नेगरि चालकलाई ढिलो गरि पक्राउ गर्ने योजना अनुरुप छलछाम गरेको स्थानीयको आरोप छ ।
गराउन पनि आर्थिक स्रोतको परिचालन भएको बुझिएको छ । कार्कीलाई बचाउन प्रदेश सरकारका मन्त्रीदेखि कांग्रेसका माथिल्लो तहका नेताहरुले नै प्रहरीलाई दबाब दिइरहेको स्रोतको दाबी छ ।
कता गए दुर्घटना गराउने रबिन ?
दुर्घटनापछि रबिन राति विराटनगरकै विराट नर्सिङ होम एवं विराटनगर अस्पताल पुगेका थिए । मदिराको नसामा लट्ठ रहेको अवस्थामा रबिन आएको र त्यसपछि कता गए भन्ने थाहा नभएको अस्पतालका एक कर्मचारीले बताए ।
छोरा अस्पताल छिरेको केही समयपछि आमा विन्दिया पनि अस्पताल आएको उनले बताए । विन्दिया लाइसेन्सबिनै सवारी चलाएर दुर्घटना गराएका छोरालाई बचाउन लागेको स्रोतको दाबी छ । हाम्रो सम्पर्कमा सांसद कार्कीले आफ्ना छोराले कार नचलाएको र दुर्घटना पनि नगराएको भन्दै जोगाउने प्रयास गरिन् ।
उनले उक्त कार कोरोना संक्रमणका कारण मृत्यु भएकाको शव व्यवस्थापनमा प्रयोग गर्नलाई दिएकी थिइन् । राम नेपालको नेतृत्वमा केही युवाहरु मिलेर संक्रमितको शव व्यवस्थापन गर्ने अभियान विराटनगरमा चलाइएको छ । विन्दिया नेपाली कांग्रेसको तर्फबाट प्रदेशसभा सदस्य हुन् ।