विराटनगर । प्रदेश १ सासद बिन्दिया कार्कीका छोरा रबिन कार्कीले चलाएको कारले ठक्कर दिएर मजदुरको मृत्यू भएको प्रत्यक्षदर्शी बताउँछन् । ठक्कर दिएर चालकको सिटबाट निस्किएर रबिन भागेको प्रत्यक्ष कुराकानीमा स्थानीय भनिरहेका छन् । तर, प्रहरी भने अझै चालक फरार भनेर घटनाको नयाँ रुप कोर्नमा व्यस्त छ ।
घटना भएको शनिबार दुई दिन भयो । विहीबार साँझमा विराटनगरको मध्य सडकमा भएको घटनाका दोशीका रुपमा रहेका चालक समाउन सांसदका छोरा भएकै कारण प्रहरी आनाकानी गरिरहेको छ । यो बिचको समयमा घटना सामसुम पार्न बिभिन्न चलखेल भएका छन् ।
विराटनगर ४ स्थित एयरपोर्ट लाईनमा बिहीबार राती प्रदेशसभा सदस्य कार्कीले प्रयोग गर्दै आएको प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कारको ठक्करबाट भारतीय मजदुर ३५ वर्षीय मुकेश शर्माको मृत्यु भएको थियो । कारको ठक्करबाट मोरङको कटहरी गाउँपालिका–२ का २७ बर्षीय राजकुमार राजवंशी पनि गम्भीर घाईते भएका थिए । उनी अहिले उपचाररत छन् । मृतक र घाइते विराटनगर–४ स्थित एभरेष्ट स्टिल उद्योगमा कार्यरत मजदुर हुन् ।
‘गाडी स्पिडमा थियो, गाडी चालकको नियन्त्रणमा थिएन’, स्थानीय भीष्म खडकाले भने, ‘सायद मदिरा सेवन गरेका थिए । सडक छेउमा हिँडिरहेका मान्छेलाई समेत देखेनन् ।’ यो प्रत्यक्ष देख्नेको कुरा हो । प्रहरी भने हाल सम्म केही बोल्दैन र प्रहरी कार्यालयमा घटनाका बिषयमा बुभ्mन पुग्नेलाई भन्छ ‘आज समाचार नलेख्नु ।’
प्रहरीकै संलग्नतामा दोषीलाई उन्मुक्ति दिने प्रयास भईरहेको यो गतिबिधीबाट प्रष्ट छ । कार चालक रबिनसँग सवारी चालक अनुमति पत्र समेत नभएको खण्डमा रातारात लाईसेन्सधारी सवारी चालक खडा गरि सांसदको छोरा जोगाउन चलखेल सुरू भएको स्रोतको दाबी छ ।
कार्कीले यसअघि पनि थुप्रै दुर्घटना गरेको तर सबै निकायमा पहुँच भएकै भरमा छुट्दै आएको स्रोतले जनाएको छ ।
लाईसेन्स बेगर सवारी चलाएर दुर्घटनामा परि कुनै व्यक्तिको मृत्यु भए सवारी चलाउने चालक र सवारी धनीमाथि ‘सवारी ज्यान मुद्दा’ दर्ता हुने कानुनी व्यवस्था छ ।
लाइसेन्स नहुने व्यक्तिको हकमा सो मुद्दाको १६१ को दफा २ र दफा ४ आकर्षिक हुने कानुनमा उल्लेख छ । उक्त कसुर पुष्टि भएको खण्डमा सवारी चलाउने व्यक्तिलाई कसूरको मात्रा अनुसार ३ देखि १० वर्षसम्मको कैद र ३० हजारदेखि १ लाख रुपैयाँसम्मको जरिवाना हुन्छ । सवारी चालक अनुमति पत्र नभएको हकमा पनि थप सजायको व्यवस्था छ ।
सवारी ज्यान मुद्दाको दफा ४ मा सवारी चालक अनुमतिपत्र नभएका व्यक्तिले सवारी चलाई उपदफा ९१० वा ९२० बमोजिमको कसुर गरेमा निजलाई सोही उपदफा बमोजिम हुने सजायमा थप २ हजार रुपैयाँ समेत जरिवाना हुने कानुनी व्यवस्था रहेको छ ।
यस्तै सोही मुद्दाको दफा ५ मा कुनै सवारीको धनी वा सवारीको जिम्मा लिएको व्यक्तिले चालक अनुमतिपत्र नभएको व्यक्तिलाई सवारी चलाउन दिई कुनै मानिसलाई किची, ठक्कर लागि वा दुर्घटना भई सो मानिस मर्न गएमा त्यस्तो सवारी चलाउन दिने व्यक्तिलाई २ वर्षसम्म कैद हुने व्यवस्था पनि कानुनमा छ ।
त्यही भएर पहुँचवाला सांसदको छोरा रबिनलाई घटनास्थलमा नदेखाई लाईसेन्स भएका व्यक्ति खडा गरेर मुद्दा मिलाउन प्रहरीलाई दबाव दिईएको स्रोतको दाबी छ । सांसद बिन्दिया कार्की नेपाली कांग्रेसको तर्फबाट प्रदेशसभामा प्रतिनिधित्व गर्छिन् । उनी आबद्ध पार्टीका केही पहुँचवाला नेताहरू र स्वयंम १ नम्बर प्रदेश प्रहरी कार्यालयले समेत घटनालाई सकेसम्म मिलाउन खोजेको बुझिएको छ ।
सुरक्षा स्रोतका अनुसार बिहीबार साँझ रबिनसहित ५ जनाले विराटनगरस्थित मुनालपथको एक होटलमा मदिरा सेवन गरेका थिए । सो होटलमा रबिनले मुस्ताङ बियर खाए । त्यसपछि कारमा ३ जना सवार भएर उनीहरू धरान–विराटनगर सडक हुँदै उत्तरतर्फ हानिए । तीव्र गतिमा हुइँकिएको कार अनियन्त्रित भई एयरपोर्ट लाईनमा २ जना पैदलयात्रीलाई ठक्कर दिएको प्रत्यक्षदर्शीको भनाई छ । दुर्घटना भएपछि रबिन फरार छन् ।
स्थानीय प्रत्यक्षदर्शीका अनुसार कारमा २ युवतीहरु पनि सवार थिए । दुर्घटना लगत्तै तीनै जना कारबाट निस्किएर फरार भएको प्रत्यक्षदर्शीले बताएका छन् । ‘दुर्घटना भएपछि हामी भेला भएर घाइतेको उद्धारमा व्यस्त भयौं’, एक स्थानीयले भने, ‘त्यतिबेलै कार चालक युवा र दुई युवती कार घटनास्थलमै छाडेर फरार भएछन् ।’
दुर्घटनापछि उनीहरु राति विराटनगर–२ स्थित विराट नर्सिङ होम पुगेका थिए । मदिराको नसामा लठ्ठ रहेको अवस्थामा रविन आएको र त्यसपछि कता गए भन्ने थाहा नभएको अस्पतालका एक कर्मचारीले बताए ।
मोरङ प्रहरीका प्रवक्ता एवं डि.एस.पी मानबहादुर राईले घटनाको सुक्ष्म अनुसन्धान भईरहेको बताएका छन् । दुर्घटनास्थल एशियाटीक होटल र जगदम्बा स्टिल हार्डवेयरको बीचमा रहेका कारण प्रहरीले सिसीटिभी फुटेज र सबै कोटदेखि चालकको पहिचान गर्ने काम सुरु गरेको डि.एस.पी राईले बताए । प्रहरीले कारमा रहेका अन्य केहीको पहिचान भइसकेको पनि बताएको छ । ‘कारमा रहेका बहिनीहरुलाई हामीले सोधपुछका लागि बोलाएका छौं । अहिले अनुसन्धान भइरहेको छ’, ।
स्रोतका अनुसार मजदुरीकै लागि नेपाल आएका मृतक भारतीय नागरिक मुकेश शर्माको शव उनको घर पठाईसकिएको छ । उनको परिवारलाई शवसँग भारतीय रुपैयाँ ५० हजार क्षतिपूर्ति स्वरुप दिईएको प्रहरी स्रोतको दाबी छ ।
‘मृतक परिवारलाई नै प्रलोभनमा पार्ने र घटनामा संलग्न भनेर नक्कली व्यक्ति खडा गर्ने व्यापक तयारी भएको छ’, प्रहरी स्रोत भन्छ, ‘प्रदेश सरकारका मन्त्री र प्रदेश प्रहरी कै उच्च नेतृत्वद्धारा मिलापत्रको प्रयास भईरहेको छ । हालसम्म सवारी चालकको पहिचान नभईसकेको कारण देखाएर प्रहरीले मुद्दा दर्ता गर्न आलटाल गरिरहेको छ ।’