मृतकका परिवारलाई भारु ५० हजार दिएर शव जिम्मा
विराटनगर । सांसदकै छोरा भएका कारण पक्राउ नगर्न ठुलो दबाब झेलेको मोरङ प्रहरीले अन्तत विराटनगरमा भएको सवारी दुर्घटनाका आरोपीत रबिन कार्कीलाई पक्राउ गरेको छ ।
सञ्चारमाध्यमको निरन्तरको खबरदारीका कारण र मजदुर संगठनको निरन्तरको चेतावनीका कारण प्रहरीले मापसे गरी भारतीय मजदुरको मृत्यू हुने गरी सवारी दुर्घटना गराउने कार्कीलाई पक्राउ गरेको हो । रबिन प्रदेश सांसद विन्दिया कार्कीका छोरा हुन् ।
आईतबार अपरान्ह विराटनगरको बरगाछीस्थित आफ्नै निवासबाट कार्की पक्राउ परेका हुन् । विराटनगरको उद्योगमा कार्यरत भारतीय मजदुरकोे मृत्यु र अर्का एक गम्भीर घाइते हुने गरि विहीबार साँझ रबिनले कुदाएको कार अनियन्त्रित भएर दुर्घटना भएको थियो । मापसे गरी सवारी हाँकेको केही समयमानै कारले सडक किनारमा हिडिरहेका दुई मजदुरलाई हानेको प्रत्यक्षदर्शिले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङ खटिएको प्रहरीको टोलीले रबिनलाई पक्राउ गरेको हो । पक्राउ परेका कार्कीलाई प्रहरीले मोरङ अदालतमा म्याद थप गरी अनुसन्धान सुरु गरेको मोरङ प्रहरीका एस.पी सन्तोष खडकाले बताए । प्रहरीले दिएको जानकारी अनुसार कार्कीलाई ‘सवारी ज्यान मुद्दामा’ म्याद थप भएको छ ।
बिहीबार राती साढे सात बजे सवारी ज्यान मुद्दाका आरोेपी रबिन कार्कीले प्रयोेग गर्दै आएको प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कारले पैदल यात्रीलाई ठक्कर दिदाँ ३५ वर्षीय भारतीय नागरिक मुकेश शर्माको उपचारको क्रममा मृत्यु भएको थियो । मोरङको कटहरी गाउँपालिका– २ का २७ बर्षीय राजकुमार राजवंशी भने गम्भीर घाइते भएका थिए ।
दुर्घटनामा परेको कारमा सवारहरुको बयान र प्राप्त प्रमाणका आधारमा चालक कार्की नै रहेको देखिएकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए । पैदल यात्रीको ज्यानै जाने गरी भएको दुर्घटनापछि रबिन कार्की फरार थिए । प्रदेससभा सदस्य कार्कीले घटनामा आफ्नो छोरा सम्लग्न नभएको दाबी गर्दै आएकी थिइन् ।
मृतकको शव बुझेर आफन्तले भारततिर लगिसकेका छन् । मृतक परिवारलाई सांसद कार्कीले भारु ५० हजार दिएर पठाएको बताइएको छ । यस्तै घाइतेको नोबेल शिक्षण अस्पतालबाट डिस्चार्ज भइसकेको छ । मुनालपथमा रहेको एडमायर होटलमा मदिरा सेवनपछि रविनले कार चलाएको बेला दुर्घटना भएको थियो ।
दुर्घटना भएका बेला गाडीमा दुई युवती र रविनसहित तीन युवक थिए । तीव्र गतिमा हुइँकिएको कारको ठक्करबाट दुर्घटना भएर मानिसको मृत्यु हुँदा पनि चालक परिवर्तन गरेर कार्कीलाई बचाउन तीन दिन सम्म प्रयास भएको थियो ।