Lite Nepal

शुक्रबार, जेठ २८, २०७८

विराटनगर । मोरङमा भएको सवारी दुर्घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरीले हतियार र लागुऔषध कारोबारको अवैध धन्दा पत्ता लगाएको छ ।

पूर्व–पश्चिम लोकमार्गअन्तर्गत बेलबारी नगरपालिका–१० भाउन्नेमा बिहीबार बिहान भएको दुर्घटनाको अनुसन्धान अघि बढाउँदा प्रहरी विगतदेखि नै साना हतियार र लागुऔषधको कारोबार गरिरहेको गिरोहसम्म पुग्न सफल भएको हो ।

इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक (इन्सपेक्टर) सरोज खनाल नेतृत्वको टोलीले उक्त गिरोहलाई नियन्त्रणमा लिएको छ ।

घटना अनुसार बिहीबार बिहान ६ः१५ बजेतिर भाउन्नेमा प्रदेश १–०२–०४१ प ८८८७ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेका दुई किशोर र एक वृद्ध पुरुषसहित तीन जनालाई ठक्कर दिएको थियो ।

प्रहरीका अनुसार आफै अनियन्त्रित भएको मोटरसाइकलको ठक्करबाट पैदल यात्री बेलबारी–११ का १६ वर्षीय प्रीतम राई, १५ वर्षीय सन्देश दास र कानेपोखरी गाउँपालिका–७ का ६५ वर्षीय दिलकुमार योगी घाइते भएका थिए ।

दुर्घटनामा मोटरसाइकल चालक मोरङकै सुन्दरहरैँचा नगरपालिका–९ का ३५ वर्षीय चेवनकुमार धमला र पछाडि सवार २५ वर्षीय विशाल भनिने खेम भट्टराई पनि घाइते भए । घाइते पाँचै जनालाई उपचारका लागि बेलबारीस्थित नोबेल सामुदायिक अस्पतालमा भर्ना गरिएको थियो ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मोटरसाइकलमा सवार रहेका धमला र भट्राईको अवस्थामा सामान्य छ । अरु तीन जनालाई थप उपचारका लागि विराटनगरको न्युरो अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ ।

मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार दुर्घटनामा परेर घाइते भएकामध्ये धमला र भट्टराईले शंकास्पद व्यवहार देखाउन थालेपछि प्रहरीले उनीहरुले बोकेको झोला नियन्त्रणमा लिएर खानतलासी गरेको थियो । झोलामा लागुऔषध आठ सय ९२ पिस नाइट्राभेट ट्याब्लेट र लगभग १४ ग्राम चरेसजस्तो देखिने कालो पदार्थ फेला परेको जानकारी खड्काले दिए ।
उनका अनुसार झोलामा लागुऔषध बरामद भएपछि दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाउँदा मुख्य कारोबारीसम्म पुग्न प्रहरी सफल भएको हो । अनुसन्धानका क्रममा धमला र भट्टराईले सुनवर्षी नगरपालिका–८ का अब्बास मियाँबाट आफूहरुले लागुऔषध खरिद गरेर ल्याएको बताएका थिए ।

त्यसपछि सुनवर्षीस्थित मियाँको घरमा छापा हानेर खानतलासी गर्दा हतियार र अरु लागुऔषध फेला परेको जानकारी एसपी खड्काले दिए ।

उनका अनुसार घरमा लुकाएर राखेको अवस्थामा एउटा कटुवा पेस्तोल, दुई राउण्ड गोली, छ सय ट्याब्लेट नाइट्राभेट र दुई बोतल डिसी नामक तरल लागुऔषध तथा एउटा चक्कु बरामद भएपछि मियाँलाई पनि पक्राउ गरेर कारबाहीको दायरामा ल्याइएको छ ।

मियाँ लागुऔषधका पुराना कारोबारी रहेको सूचना प्रहरीले यसअघि नै पाएको थियो । तर यथेष्ठ प्रमाणको अभावमा उनलाई पक्राउ गर्न प्रहरीले सकिरहेको थिएन । तर उनैले लागुऔषध बेचेकाहरु दुर्घटनामा परेपछि मियाँले चलाइरहेको अवैध धन्दाका बारेमा प्रहरीले पत्ता लगाएको हो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट मियाँ लागुऔषध र हतियार भारतबाट नेपाल भित्राउने गिरोहमा आवद्ध रहेको खुलेको छ । पक्राउ परेकाहरुविरुद्ध लागुऔषध र हातहतियार खरखजना ऐनअन्तर्गत मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा