विराटनगर । प्रदेश १ का सांसद प्रताप प्रकाश हाङ्गामले ताप्लेजुङ अस्पताललाई सय शैयाको बनाउन प्रदेशले बजेटमा समेट्नु पर्ने माग गरे ।
शुक्रबार नीति तथा कार्यक्रमका विषयमा बोल्दै उनले पाँचथरको अस्पताललाई सय शैयाको बनाउन कार्यक्रममा समेटेको तर, ताप्लेजुङको अस्पताललाई ५० शैयामा मात्रै सिमित राख्नु दुःखत भएको बताए ।
‘ताप्लेजुङमानै बढी कोरोना संक्रमित छन् अहिले, त्यहाँको जनसंख्या पाँचथरको भन्दा बढी छ अनि काटमार पनि बढी ताप्लेजुङमानै हुन्छ,’ उनले भने ‘ताप्लेजुङमा पनि सय शैयाकै अस्पताल चाहियो ।’
ताप्लेजुङलाई नीति तथा कार्यक्रमले कति समेटेको छ ? भन्ने विषयमा बढी बोलेका उनले जिल्ला कारागार ताप्लेजुङको पनि क्षमता बढाउने योजना प्रदेश सरकारले ल्याउनु पर्नेमा जोड दिए ।
‘कारागारको क्षमता सानु हुँदा जिल्ला बाहिर लगेर राख्नुपर्ने बाध्यता छ, कोचिएर राखिएको छ, महिला कारागार छैन,’ उनले भने ‘त्यो कारागारलाई ठुलो बनाउनु प¥यो ।’
भारतले सिमाना मिचेको विषय कोट्याउँदै उनले बजेटले सिमानामा तार लगाउने योजनालाई समेट्नु पर्ने सुझाव दिए । ‘हामी सिमाना मिच्यो, भारतले खुल्ला सीमानाबाट आएर यो गर्यो, त्यो गर्यो भन्छौ,’ उनले भने ‘बजेटमा तार लगाउन रकम छुट्याउँ र तार जाली लगाउँ ।’