Lite Nepal

बिहिबार, आषाढ १०, २०७८

विराटनगर । निषेधाज्ञा खुकुलो बन्दै जाँदा कोरोना संक्रमण बढ्ने जोखिम उच्च भएको छ । विज्ञहरुका अनुसार दुई साताभित्र सक्रिय संक्रमितको संख्या बढ्ने खतरा उच्च छ ।

धेरैजसो जिल्लामा सक्रिय संक्रमितको संख्या घटे पनि निषेधाज्ञा खुकुलो भएपछि आगामी दुई सातामा सक्रिय संक्रमितको संख्या बढ्ने जोखिम रहेको विज्ञहरूले बताएका छन् । अघिल्लो साताको दाँजोमा हाल ६४ जिल्लामा सक्रिय संक्रमितको संख्या घट्दो छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक एवं स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलका अनुसार १३ जिल्लामा संक्रमण थोरै बढेको छ ।

पाँचथर, तेह्रथुम, नुवाकोट, बागलुङ, जुम्ला, रुकुम पश्चिम, बाजुरा, कास्की, मुस्ताङ, डोल्पा, संखुवासभा दोलखा र रसुवामा पछिल्लो समय संक्रमण बढेको हो ।

‘संक्रमणको अवस्था एकदमै घटेको भने छैन,’ डा पौडेलले भने, ‘तर ५ सयभन्दा बढी सक्रिय संक्रमित हुने जिल्लाको संख्या धेरै घटेको छ । पछिल्लो साता औसत संक्रमण दर करिब २० प्रतिशत हाराहारी छ ।’

दोस्रो लहरमा औसत संक्रमण दर ५२ प्रतिशतसम्म पुगेको थियो । हाल ३६ जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित छन् । ‘संक्रमण दर एक अंकमा आउन अझै समय लाग्ने देखिन्छ,’ डा पौडेलले भने, ‘हालकै स्थिति निरन्तर रहे एक अंकमा आउन अझै ६ देखि ८ सातासम्म लाग्न सक्थ्यो ।’

पहिलो लहरमा लकडाउन खुल्नासाथ संक्रमण बढेको औंल्याउँदै उनले निषेधाज्ञा खुकुलो हुनासाथ स्वास्थ्य मापदण्डमा हेलचेक्य्राइँ हुने भएकाले संक्रमण पुनः बढ्न सक्ने जोखिम रहेको बताए ।

हाल उपत्यकाका तीनसहित १७ जिल्लामा एक हजारभन्दा बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले बताए ।

देशभर ५० हजार ५ सय २० जना सक्रिय संक्रमित छन् । काठमाडौंमा ४ हजार ६ सय ९७, भक्तपुरमा १ हजार ९ सय २१ र ललितपुरमा २ हजार ५ सय ५८ गरी तीन जिल्लामा ९ हजार १ सय ७६ जना सक्रिय संक्रमित छन् । यो देशभरिको सक्रिय संक्रमितको १८.१६ प्रतिशत हो ।

सबैभन्दा कम रुकुम पूर्वमा ६ जना, डोल्पामा ९ र बाजुरा ७ जना सक्रिय संक्रमित छन् ।

पछिल्लो साता जटिल प्रकृतिका बिरामीको संख्यामा कमी आए पनि संक्रमण दरमा भने उल्लेख्य कमी देखिन्न । बुधबार ७ हजार ४ सय ६१ पीसीआर परीक्षण गर्दा २०.२५ प्रतिशत अर्थात् १ हजार ५ सय ११ जनामा संक्रमण देखिएको छ भने ८१ जनाको मृत्यु भएको छ ।

सोही अवधिमा एन्टिजेनसमेत गरी १२ हजार ४ सय १४ जनाको परीक्षणमा कुल २ हजार ४ सय २१ संक्रमित देखिएका छन् ।

यस्तै, पहिलो लहरको दाँजोमा २० देखि ४४ वर्ष उमेर समूहको मृत्युदर करिब दोब्बर देखिएको छ ।

पहिलो लहरमा यो उमेर समूहमा मृत्युदर ०.२३ प्रतिशत थियो भने हाल ०.७५ देखिएको छ । पहिलो लहरको दाँजोमा दोस्रो लहरमा ६५ वर्ष माथिकाहरूको मृत्युदरमा भने कमी देखिएको छ ।

पहिलो लहरमा ८.३ प्रतिशत देखिएकोमा हाल उक्त उमेर समूहमा मृत्युदर ६९९ प्रतिशत छ । मृत्युदर कम देखिनुमा खोपसमेत एउटा कारक हुन सक्ने डा पौडेलले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा