Lite Nepal

आइतबार, आषाढ १३, २०७८

बिर्तामोड । श्रमिक नेताहरुले चिया क्षेत्रमा सामाजिक सुरक्षा ऐन २०७४ तत्काल कार्यान्वयन गर्न माग गरेका छन् ।

आइतबार झापाको बिर्तामोडमा आयोजित एक छलफल कार्यक्रममा बोल्दै टे«ड युनियन तथा चिया क्षेत्र सम्बद्ध श्रमिकका नेताहरुले सबै श्रमिकलाई तत्काल सामाजिक सुरक्षा कोषमा सूचीकृत गर्न माग गरेका छन् ।

चिया उद्योगीहरुसँग यसअघि भएको सहमति बमोजिम योगदानमा आधारित सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा नेताहरुको जोड छ । चिया उद्योगीले उक्त ऐन कार्यान्वयनमा आलटाल गरिरहेको भन्दै उनीहरुले सरकारको समेत ध्यानाकर्षण गराएका छन् ।

पूर्व सहमति बमोजिम असार मसान्तसम्ममा सामाजिक सुरक्षा ऐन कार्यान्वयनका लागि चिया प्रतिष्ठान र सम्बद्ध श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सूचीकरणको प्रक्रिया अघि नबढाए आन्दोलनमा उत्रने नेताहरुले बताएका छन् । उनीहरुले श्रम ऐनको अक्षरशः कार्यान्वयनमा समेत जोड दिएका छन् ।

श्रमिकको हक अधिकार रक्षाका लागि बनेका ऐन कानून कार्यान्वयनमा चिया उद्योगीहरुको उदासिनता हुनु र सरकारले समेत चासो नदिँदा श्रमिकहरु पीडित बनेको नेताहरुको गुनासो छ ।
सामाजिक सुरक्षा ऐन र श्रम ऐन कार्यान्वयनका लागि सबै सरोकारवालासँग छलफल गरी कुनै समस्या भए तत्काल समाधान गरेर अघि बढ्नुपर्नेमा उनीहरुले जोड दिएका छन् ।

उक्त ऐन कार्यान्वयन नहुँदा जीवन नै जोखिममा राखेर श्रमिकले काम गरिरहनु परेको बताइएको छ । ती ऐन कार्यान्वयन भए श्रमिकसँगै चिया क्षेत्रका अधिकांश समस्याहरु समाधान हुने मजदुर नेताहरुको भनाइ छ । त्यस्तै चिया क्षेत्रमा कार्यरत कामदार कर्मचारीको ग्रेड कार्यान्वयन गर्न कानूनी व्यवस्था गरी अघि बढ्नका लागि समेत उनीहरुको आग्रह छ ।

त्यस्तै बढ्दो महँगी अनुसार श्रमिकका लागि विशेष राहत प्याकेजको व्यवस्था गर्न समेत उनीहरुले माग गरेका छन् । चिया क्षेत्रलाई विशेष पकेट क्षेत्र घोषणा गरी श्रमिक, कृषक र उद्योगीको समस्या समाधान गरी समग्र चिया क्षेत्रको विकासमा अग्रसरता लिन तीनै तहका सरकारलाई मजदुर नेताहरुले ध्यानाकर्षण समेत गराएका छन् ।

अखिल नेपाल टे«ड युनियन महासंघ प्रदेश १ का इञ्चार्ज भुपाल सापकोटा, नेपाल टे«ड युनियन कांग्रेसकी केन्द्रीय सदस्य उर्मिला ढकाल पोखरेल, टे«ड युनियन महासंघ नेपाल (टुकोन)का प्रदेश १ अध्यक्ष हर्क थुङगिम, नेपाल टे«ड युनियन कांग्रेस झापाका अध्यक्ष यज्ञप्रताप अधिकारी, नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघका केन्द्रीय उपाध्यक्ष सहीकुमार राईले समग्र चिया क्षेत्रको समस्या समाधानका लागि उक्त ऐन कार्यान्वयनमा जोड दिए ।

नेपाल चिया बगान श्रमिक संघका केन्द्रीय अध्यक्ष दीपक तामाङ, अखिल नेपाल चिया मजदुर संघकी केन्द्रीय अध्यक्ष सीता सापकोटा, चिया श्रमिक संगठनका झापा अध्यक्ष कर्ण खातीले चिया श्रमिकका समस्या समाधान नभए सशक्त आन्दोलन गर्ने बताए ।

सामाजिक सुरक्षा ऐन कार्यान्वयन नभए साउनबाट आन्दोलनमा उत्रने नेताहरुले संकेत गरेका छन् । संवाद समूह झापाले संयोजन गरेको छलफलको सहजीकरण अधिवक्ता खगेन्द्र खरेलले गरेका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा