Lite Nepal

सोमबार, आषाढ २१, २०७८

काठमाडौ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा परिचित माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आजदेखि बिजुली उत्पादन गर्दैछ । कुल ४५६ मेगावाट क्षमताको सो आयोजनाको पहिलो युनिटबाट बिजुली उत्पादन गर्न लागेको हो ।

आयोजनाका प्रवक्ता डा। गणेश न्यौपानेका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपराह्न ४ बजे भर्चुअल माध्यमबाट आयोजनाको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । उनका अनुसार आयोजनाको पहिलो युनिटको क्षमता ७६ मेगावाट रहेको छ । प्रणालीको मागअनुसार विजुली उत्पादन हुने प्रवक्ता न्यौपानेले जानकारी दिए ।

आयोजनाले आइतबार नै विद्युत गृह रहेको गोगरदेखि खिम्तीसम्मको कूल ४७।२ किलोमिटर लामो २२० केभी क्षमताको प्रसारण लाइनमा बिजुली पठाएर चार्ज गरेको छ । आयोजनाले शनिबार ढल्केबरदेखि न्यू खिम्ती सबस्टेशनबीचको लाइन चार्ज गरेको थियो ।

यस्तै जीआइएस समेत चार्ज भएको छ । सूचना प्रणालीका लागि अप्टिकल फाइबरसमेत जोडिएको छ । आजसम्म आयोजनामा जडान गरिएका उपकरण नो लोडमा चलाइएको थियो भने अब सोमबारदेखि ती उपकरणलाई लोडमा चलाइने छ ।

आयोजनाबाट उत्पादित बिजुली विद्युत्‌गृह रहेको गोगरबाट न्यू खिम्ती सवस्टेशन हुँदै ढल्केबर पुग्नेछ । प्रवक्ता न्यौपानेका अनुसार ढल्केबर सवस्टेशनबाट राष्ट्रिय प्रसारण प्रणालीमा जोडिन्छ । उद्घाटनको आवश्यक तयारी पूरा भएको जानकारी दिँदै प्रवक्ता न्यौपानेले नेपाली जनताले विगत १० वर्षदेखि देखेको सपना पूरा भएको प्रतिक्रिया दिए । स्वदेशी लगानीमा नै हालसम्मकै ठूलो आयोजना सम्पन्न भएको हो ।

यस्तै यही असार मसान्तभित्रै आयोजनाको अर्को एक युनिटबाट समेत बिजुली उत्पादन गर्ने गरी आवश्यक तयारी गरिएको छ । प्राकृतिक विपत्ति तथा अनेकन समस्यासँग जुध्दै स्वदेशी लगानीकै सबैभन्दा ठूलो आयोजना अन्तिम चरणमा पुगेको हो । आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रणालीमा जोड्नका लागि यही असार १३ गतेदेखि १९ गतेसम्म आवश्यक तयारी गरिएको थियो । त्यसमा विशेषगरी प्रसारण लाइन व्यवस्थापनको काम गरिएको डा।न्यौपानेले जानकारी दिए ।

माथिल्लो तामाकोशीको विद्युत गृहबाट आएको २२० केभी क्षमताको प्रसारण लाइनलाई न्यू खिम्तीमा रहेको सवस्टेशनमा जोडिएको छ । नेपाल विद्युत प्राधिकरणको प्रणाली सञ्चालन विभागले यही असार १२ गते एक सूचनामार्फत राष्ट्रिय गौरवको माथिल्लो तामाकोशीको विद्युत राष्ट्रिय विद्युत प्रणालीमा जोड्ने कार्यक्रम भएकाले खिम्ती लामोसाँघु १३२ केभी प्रसारण लाइन बन्द हुने जानकारी दिएको थियो ।

सो अवस्थामा प्रणालीमा विद्युत अपुग हुने भएकाले ढल्केबारदेखि कोहरपुरसम्मका सबस्टेशनबाट विद्युत् आपूर्ति हुने क्षेत्रका औद्योगिक ग्राहकको छोटो समयका लागि विद्युत कटौती भएको थियो । त्यस समयमा प्राधिकरणले कुलेखानी जलाशयको पानी प्रयोग गरी यथाशक्य विद्युत कटौतीको समय कम गर्न प्रयास गरेको थियो । यसअघि आयोजनाको सुरुङमा पानी हालेर पनि परीक्षणलगायतका काम नियमित गरिएको थियो ।

शुरुआती लागत रु ३५ अर्ब रहेको भए पनि अमेरिकी डलरको मूल्यमा आएको उतारचढाब, ब्याजलगायतका कारण लागत भने बढेर झण्डै रु ८० अर्बको हाराहारी पुगेको छ । तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले यो आयोजनाको शिलान्यास गरेका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं