Lite Nepal

शनिबार, साउन १६, २०७८

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएपनि दुई साता बितिसक्दा मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन्। गठबन्धन भित्रका दल आन्तरिक समस्यामा फसेपछि उनले मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेका हुन्।

सत्ता सहकार्यका लागी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दौडधुप गरिरहेका छन्। यसैबीच प्रधानमन्त्री देउवा र प्रचण्ड बीच भेटवार्ता भएको छ। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र ‘प्रचण्डबीच भेटवार्ता भएको हो। बालुवाटार स्रोतका अनुसार दुई नेताबीच मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल भएको छ। बुधबारको सत्ता गठबन्धनको बैठकले मन्त्रालय बाँडफाड गरी शीर्ष नेताहरूले मन्त्रीको नाम दिएपछि प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको थियो।

सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी, राष्ट्रिय जनमोर्चा र नेकपा एमालेका माधवकुमार नेपाल पक्ष सहभागी छ। प्रधानमन्त्री शेरबहादुर देउवाले आफूसहित ६ सदस्यीय मन्त्रिपरिषद् बनाएका छन्। सर्वोच्च अदालतले सोमबार देउवालाई दुई दिनभित्र प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको थियो। सोहीअनुरूप राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्च अदालतको संवैधानिक इजलासको आदेशअनुसार देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन्।

अहिले गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ रहेका छन्। बाँकी मन्त्रालयहरू प्रधानमन्त्री मातहत नै छन्। सत्ता गठबन्धन भित्र मन्त्रालय बाँडफाड र गठबन्धनबीच मन्त्री छनोटमा विवाद भइरहँदा देउवाले कस्तो मन्त्रिमण्डल बनाउँछन् भन्ने आमचासो रहेको छ।

कम्युनिस्ट नेता नरबहादुर कर्माचार्यको ८ औँ स्मृति दिवसका अवसरमा बोल्दै अध्यक्ष प्रचण्डले पार्टीका ४९ जना सांसदको मन्त्री बनाउन दबाब आएको उल्लेख गरेका थिए। ‘हामीले धेरै पायौँ भने ७ जनासम्मलाई मन्त्री बनाउन पाउने हो। यहाँ मन्त्री पाइएन भने नेतृत्वलाई सराप गर्ने, मन्त्री पाए मात्र काम गर्ने प्रवृत्ति अहिले जबरजस्त रूपमा विकास भएको छ।

या ठूलै नियुक्ति पायो भने ठिक छ, पाएन भने नेतृत्व बदमासै हो भन्ने प्रवृत्ति छ।’ उनले भनेका थिए, ‘तीन चार दिनदेखि म निकै मानसिक तनाव भित्र छु। मलाई त ४९ जनालाई नै मन्त्री बनाइदिन पाए हुन्थ्यो जस्तो लागेको त छ। हामी कुरा गर्दा कम्युनिस्ट पार्टी यस्तो हुनुपर्छ भनेर आदर्शका कुरा गर्ने तर चित्त भने मन्त्री पद पाइन्छ कि पाइँदैन भन्ने छ।’

सत्ता गठबन्धनमा देउवालाई जसपाको विवाद टुंगिएकोले चाँडै सरकार विस्तार गर्नुपर्ने दबाव छ। तर एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा सरकारमा जाने नजाने अन्तिम निर्णय नभइसकेका कारण मन्त्रालय भागबन्डा मिलाउन सत्ता गठबन्धनमा सकस परिरहेको छ। गठबन्धनले मन्त्रालयगत भागबण्डासमेत बाहिर ल्याएको छैन। यता पार्टी सभापति समेत रहेका देउवाले आफ्नै पार्टीभित्रबाट पनि कसलाई मन्त्री बनाउने भन्ने टुंगो लगाउन सकेका छैनन्। देउवाले रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाको सिफारिसमा केहीलाई समेटेर मन्त्री बनाउने तयारी गरेपनि भागबण्डा मिल्न सकेको छैन।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा